काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति सकसपूर्ण भएको छ। देशको अर्थतन्त्र चलायमान बनाउने महत्वपूर्ण भूमिका खेल्ने गभर्नरमा योग्य र अनुभवी तथा अर्थतन्त्र चलायमान गर्न सक्ने व्यक्तिलाई वाईपास गरी केहि व्यापरिक घराना तथा समूहले आ आफ्ना प्रतिनिधि अघि सारिरहेका छन् ।
हालको अर्थव्यवस्थाको आवश्यकता र गभर्नरको मर्ममाथि नै खेलवाड हुने गरी हावी भएको स्वार्त समूहको सक्रियताले नेपालको समग्र बैंकिङ तथा वित्तीय क्षेत्रमा निरासा उत्पन्न हुन थालेको छ। गभर्नर नियुक्तिको समय नजिकिँदै गर्दा विभिन्न समूहले दवाव दिईरहेका छन्।
सोमबार बसेको मन्त्रिपरिषद बैठकबमा गभर्नर क्षेत्रीलाई नियुक्ति गर्न देउवा दम्पत्तिले कुरा उठाएको भएपनि प्रधानमन्त्री ओली थाईल्याण्ड भ्रमणबाट फर्केपछि मात्र गभर्नर नियुक्ति हुनेछ ।
सरकारले गभर्नर नियुक्तिको मुखैमा योग्यता सम्बन्धी मापदण्ड नै फेरबदल गरेको छ । जसले विभिन्न सँका उपसंका उब्जाएको छ। तर ६५ बर्षको उमेर हद खारेज गरी सो भन्दा माथीका व्यक्ति पनि गभर्नर बन्ने बाटो खोलिसकिएको छ ।
पछिल्लो समय पूर्व मुख्यसचिव राजेन्द्र किशोर क्षेत्रीको नाम चर्चामा छ। उनी नेकपा एमालेकै सरकार हुँदा ४ महिनाका लागि मुख्य सचिव भएका थिए। अहिले पनि नेकपा एमालेकै सरकार छ। त्यसैले पनि उनको नाम चर्चामा छ।
राष्ट्र बैंकभित्र योग्य तथा सक्षम व्यक्तिहरु हुँदाहुँदै किन बाहिरका व्यक्ति ल्याउन खोजिँदै छ भन्ने प्रश्न पनि उठिरहेको छ।
वित्तीय क्षेत्रमा क्षेत्रीको कार्यानुभव र पकड कम छ। तर उनी गभर्नर बन्न योग्य र सहि समयमा निर्णय लिन सक्ने व्यक्ति भने हुन् ।
२०७४ असार २९ गते मुख्यसचिव बनेका उनी २०७४ साल कात्तिक ६ गते अवकाश भएका थिए । जम्मा ४ महिना मुख्य सचिवको पद सम्हालेका क्षेत्रीले अर्थशास्त्रको अध्ययन गरेका छन् । तर वित्तीय क्षेत्रमा भने उनको कुनै ठोस अनुभव नभएको जानकारहरु बताउँछन् । मुलुकको केन्द्रीय बैंकको नेतृत्व समस्याग्रस्त अर्थतन्त्रलाई चलायमान बनाउन सक्ने र अर्थतन्त्र हाँक्ने रणनीति बोकेको हुनुपर्ने विज्ञहरुको बुझाई छ।
नेपालको अर्थतन्त्र अहिले निकै अप्ठ्यारो अवस्थामा छ। बैंकिङ प्रणालीमा अत्याधिक तरलता हुँदाहुँदै पनि विविध कारण लगानी प्रवाह हुन सकिरहेको अवस्था छैन। अस्थिर सरकार र सहि समयमा उपयुक्त नीति अभावका कारण लगानी सुरक्षित हुन नसक्दा लगानीकर्ताको विश्वास घट्दै गएको अवस्था छ। बैंक तथा वित्तीय क्षेत्रमा चुनौतिहरु चिर्दै अर्थतन्त्र चलायमान गर्न स्पष्ट नीति तथा कार्ययोजनाल्याएर अर्थतन्त्र ड्राइभ गर्न सक्ने क्षमतावान तथा सर्वमान्य गभर्नरको आवश्यकता रहेको समयमा कसैको स्वार्थमा गैर आर्थिक क्षेत्रका व्यक्ति नियुक्ति गरिन नहुने उनीहरू बताउँछन्।
राजनीतिक शक्ति र पहुँचकै आडमा राज्यका हरेक निकायमा आँफू अनुकुलका व्यक्ति नियुक्त गर्दै आएका समूहलेले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा समेत ठुलो चलखेल गरिरहेको चर्चा छ। देशको मौद्रिक नीतिनै प्रभावित पर्ने गरी बिशाल ग्रुप लगायतका व्यवसायिक घरानाहरुले ठूलो चलखेल गरिरहेको अर्थमन्त्रालय निकट स्रोतले जनाएको छ।
यता गभर्नर नियुक्तिको मुखमै आएर मापदण्ड संशोधन गर्नु नियतवश भएको र नेताहरूले आफ्ना मान्छे ल्याउनका लागि नितिगत व्यवस्था चेन्ज गरेको हुने सक्ने अर्थविद् केशव आचार्यको भनाई छ।
स्वार्थ समूहले विभिन्न व्यापारिक तथा औद्योगिक घरानाको योजनामा गभर्नर नियुक्ति गर्न थालेपछि विवादित बनेको छ। गभर्नरको दौड डेपुटी गभर्नरहरु, कार्यकारी निर्देशकहरु, वाणिज्य बैंकका सीईओहरु समेत छन् ।
नेपाल सरकारको आर्थिक सल्लाहकारको भूमिकामा रहेको राष्ट्रबैंकलाई हाँक्ने गभर्नर स्वार्थ समूह हावी भएको अवस्थामा देशको अर्थतन्त्र थप समस्यामा पर्ने त्रास उत्पन्न भएको छ ।
व्यापारिक स्वार्थ बोकेका समूहले ल्याएको गभर्नरले उनीहरुअनुकूल नीति ल्याउँछ, सोहीअनुसार काम गर्छ । जसले गर्दा मुलुकको अर्थतन्त्रमा नराम्ररी गम्भीर धक्का पर्नसक्ने सम्भावना बढेको छ।’ राष्ट्र बैंकका एक पूर्व डेपुटी गभर्नरले भने।
उनी भन्छन्,’बैंक तथा वित्तीय क्षेत्रको नियामक निकायको अभिभावक कसैको स्वार्थमा दलगत भागवण्डा भन्दा वित्तीय क्षेत्र बुझेको सक्षम् एवं योग्य अनुभवी व्यक्ति हुनुपर्छ । स्वतन्त्र व्यक्तिले मात्र राष्ट्र बैंकको गरिमा र वित्तीय क्षेत्रको स्थायीत्व कायम राख्न सक्छ । त्यसैले गभर्नर बैंकिङ क्षेत्रलाई राम्ररी बुझेको वित्तीय कुशल व्यवस्थापक र भिजनरी व्यक्ति चाहिन्छ ।’
को हुन् गभर्नरको चर्चामा रहेका क्षेत्री ?
राजेन्द्र किशोर क्षेत्री छोटो समयकै लागि भए पनि नेपाल सरकारको मुख्य सचिव भइसकेका पूर्व प्रशासक हुन् । ५८ वर्षे उमेर हदका कारण २०७४ असार २९ गते मुख्यसचिव बनेका उनी २०७४ साल कात्तिक ६ गते अवकाश भएका थिए ।
उनी परराष्टमन्त्री तथा कांग्रेस नेतृ आरजु देउवा निकट पनि मानिन्छन् । मुख्यसचिवबाट अवकास भएपछि उनी केही व्यवसायिक क्षेत्रमा परामर्शदाताको रुपमा काम गर्दै आएका छन् ।
क्षेत्री अर्थशास्त्र, नेपालको ऊर्जा तथा जलस्रोत, राष्ट्रिय तथा अन्यर्राष्ट्रिय कानुन, कर, बिमा र भौतिक पूर्वाधारका क्षेत्रका जानकार हुन् । उनले सहकारी, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, ऊर्जा मन्त्रालयको सचिवका रूपमा काम गरेका छन् ।







