काठमाडौं । खाद्य व्यवसायलाई स्वच्छ, ताजा र गुणस्तरीय बनाउने क्रियाकलाप सञ्चालन गर्न काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपाने र विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
खाद्य व्यवसाय अनुगमन तथा खाद्य नमुना परीक्षणका माध्यमबाट खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न सहकार्य थालिएको महानगरले जनाएको छ । संयुक्त अनुगमन तथा निरीक्षणका लागि घुम्ती खाद्य प्रयोगशाला सञ्चालनका लागि आवश्यक साधनस्रोत व्यवस्था महानगरले गर्ने छ । अन्य व्यवस्थापन संयुक्त रूपमा हुनेछ ।
अनुगमन निरीक्षणमा घुम्ती खाद्य प्रयोगशाला, खाद्य प्राविधिक, माइक्रोबायोलोजिस्ट तथा विज्ञसहित संयुक्त टोली हुनेछ । अनुगमन निरीक्षण सम्बन्धी कार्ययोजना दुवै पक्षको सहभागितामा निर्धारण हुनेछ । महानगरको सेवामा रहेका फुड टेक्नोलोजिस्ट र माइक्रोबायोलोजिस्ट तथा अन्य कर्मचारीलाई विभागले क्षमता विकास गराउने छ ।
सहमतिपत्रमा हस्ताक्षर गरिसकेपछि महानिर्देशक कर्णले सहमति अनुसारका कामबाट काठमाडौंमा थोरै लगानी भएका ठाउँमा खाइने खाना होस् कि ठूलो लगानीमा सञ्चालित खाद्य सेवाका ठाउँ, जहाँबाट पनि उपभोक्ताले स्वच्छ खाना प्राप्त गर्ने वातावरण सिर्जना हुने विश्वास व्यक्त गरे ।
आपसमा भएका क्षमता बाँडेर काम गर्दा स्वच्छ खाद्य सेवामा दिगो नतिजा आउने उनले बताए । विभागका उपमहानिर्देशक सोमकान्त रिजालले अनुगमनमा यसअघि देखिएको दोहोरोपनाको समस्या हटेर एकीकृत अनुगमन प्रणाली स्थापना हुने बताउँदै यसबाट व्यावसायिक वातावरणमा सकारात्मक प्रभाव पर्ने बताए ।
‘समाजको तल्लो तहमा रहेका नागरिकलाई राज्यले प्रदान गर्ने सुविधा नजिकैको सरकारबाट प्रदान गर्न संविधानले कल्पना गरेको सहकार्य संस्थागत हुँदै गएको छ,’ सहकार्यका विषयमा धारणा राख्दै महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भने ।






