अब भारतमा विनाकार्ड सबै बैंकका एटीएमबाट रकम निकाल्न मिल्ने

भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले सबै बैंकहरुमा कार्डलेस पेमेन्ट प्रणाली विस्तार गर्ने घोषणा गरेको छ ।

यससँगै अब भारतीय ग्राहकले एटीएम कार्ड बिनै पैसा निकाल्न सक्नेछन् । आरबीआईले त्रैमासिक मौद्रिक नीति जारी गर्दै भारतका सबै बैंकहरुको एटीएममा कार्डलेस भुक्तानीको सुविधा उपलब्ध गराउने जनाएको हो ।

यसअघि यो सुविधा केही सीमित बैंकहरुको एटीएममा मात्रै उपलब्ध थियो ।

कार्डलेस भुक्तानीको सुविधाको विस्तारले भारतको करोडौँ ग्राहक लाभान्वित हुने जनाइएको छ ।

आरबीआईका गर्भनर शक्तिकान्त दासले ग्राहकलाई यो सुविधा ‘यूपीआई’ मार्फत प्रदान गरिने बताए । यो सुविधाबाट कारोबारमा सहजता आउने र बैंकिङ अपराधमा समेत कमी आउने दासको दाबी छ ।

त्रैमासिक मौद्रिक नीतिमा आरबीआईले रिपो रेटमा यसपटक कुनै पनि परिवर्तन गरेको छैन । यससँगै रिपो रेट ४ प्रतिशत र रिभर्स रिपो रेट ३.३५ प्रतिशततै कायम रहेको छ ।

भारतमा एटीएम कार्ड बिना नगद भुक्तानीको सुविधा कोरोना महामारीका बेला सुरु भएको थियो । कोरोना संक्रमण रोक्न यो सुविधाको सुरुआत गरिएको थियो ।

त्यतिबेला भारतका प्रमुख बैंकहरु एसबीआई, आईसीआईसीआई, एक्सिस बैंक र बैंक अफ बरोदाले यो सुविधाको सुरुआत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *