काठानडाैं। क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा आज अन्तिम दिनसम्म १३ गुणा बढी आवेदन परेको छ। आज साँझ ५ बजेसम्म, कुल २० लाख ४८ हजार ५३८ आवेदकले २ करोड ४४ लाख ९२ हजार १७० कित्ताका लागि आवेदन दिएका छन् । जुन मागभन्दा १३.२७ गुणा बढी हो।
कम्पनीले फागुन २२ गतेदेखि आईपीओ विक्री गरेको हो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका निष्कासन गरेको आईपीओ बाँडफाँड गरेपछि दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आइपीओ जारी गरेको हो।
कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
यसैगरी कम्पनीका कर्मचारीहरुका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषहरुलाई १ लाख १२ हजार ५०० कित्ता साधारण शेयर पनि बाँडफाँट गरिसकेको छ। कम्पनीले अब दोस्रो चरणमा कम्पनीले १८ करोड ४५ लाख रुपैयाँबराबरको १८ लाख ४५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसमा भाग्यमानी १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले शेयर पाउनेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल रहेको छ।







