काठमाडौं । ललितपुर जिल्लाका प्रहरी प्रमुख एसएसपी श्याम कृष्ण अधिकारीकै संरक्षणमा अवैध धन्दा हुने गरेको पाईएको छ।
एसएसपी अधिकारी जहाँ-जहाँ कार्यालय प्रमुख भएर जान्छन्, त्यहाँ अनियमितता र अपराध नभएको रेकर्ड नै छैन । बि. सं २०७८ सालमा बाँके जिल्ला प्रहरी प्रमुख भएका बेलामा अधिकारीले नेपालगञ्ज स्थित मोजाङ मिनि क्यासिनोका एजेन्टबाट रक्सी र मोबाइल लुटेको थाहा पाएपछि तात्कालिन प्रहरी प्रमुख शैलेश थापा क्षत्रीले एक्सन लिने भए । त्यो कुरा थाह पाएपछि उनले उक्त सामान उपहार लिएको भन्दै फिर्ता गरेका थिए ।
विवादित एसएसपी अधिकारी अहिले ललितपुरका प्रहरी प्रमुख भएर आएका छन्। उनै अधिकारी कै संरक्षणमा लुभुमा अबैध धन्दा निर्बाध रुपमा संचालन हुँदै आएको पाइएको हो।
लुभुमा आरुष आयुर्वेदिक क्लिनिकले उनै एसएसपी अधिकारीको संरक्षणमा प्राणघातक रोग एड्स , क्यान्सर , हेपाटाइटिसको ओैषधी भन्दै काठको धुलो बिक्री गर्ने गरेको रहस्य खुलेको छ । नाति आरुष पोख्रेलको नाम राखेर संचालन हुँदै आएको उक्त क्लिनिकका संचालक कृष्णप्रसाद पोख्रेल हुन् ।
उनी अन्दाजी ७५ बर्षका छन् । पोख्रेल आँफै प्रेसर , सुगर , फोक्सोमा इन्फेक्सन लगायत अन्य रोगहरुबाट पीडित छन् । उनी डाक्टरलाई जचाएर नियमित रुपमा ओैषधीहरु सेवन गर्छन् । तर अन्य बिरामीहरुलाई एड्स , क्यान्सर , हेपाटाइटिस जस्ता प्राण घातक रोग निको हुन्छ भन्दै लाखौं रुपैँयामा काठको धुलो बिक्री गर्दै आएका छन् । देशभरि मात्र नभई उनले विदेशमा रहेका नेपालीहरुबाट समेत कुरियर मार्फत् अबैध रुपमा सोहि ओैषधी पठाएर ठगी गरिरहेका छन् ।
उनको ओैषधीमा न उत्पादन मिति छ , न प्रयोग समाप्ति मिति छ , न के-के जडिबुटीले ओैषधी बनेको कुनै लेवल छ । एचआईभी क्यान्सर लगायतका रोग निको पार्ने भनिएको काठको धुलो जस्तो देखिने सादा बट्टामा ओैषधी हो भन्दै बिक्री गर्दै आएका छन् ।
दिनमा लाखौंको कारोवार हुने उक्त क्लिनिकले प्यानमा कारोबार गरिरहेको छ। यस आयुर्वेद क्लिनिकभित्र कस्तो अबैध धन्दा भइरहेको छ त्यो प्रहरीलाई जानकारी नभएको भने होइन ।
पोख्रेलबाट ठगिनेमा प्रहरी जवान समेत छन् तर हाकीमलाई मोटो रकम बुझाउने उक्त क्लिनिक बिरुद्ध कसैको `चु´ सम्म गर्ने आट गर्दैनन् ।
अझ रोचक कुरा त के छ भने, यसै सन्दर्भमा स्थलगत रिपोर्टिङ गर्न गएका पत्रकारहरुलाई एसएसपी अधिकारीले दुर्ववहार नै गरेका छन् । उनले पत्रकारलाई फोन गरेर उक्त समाचार नलेख्नु भन्ने आसयले धम्की दिदै ‘तपाईहरु किन त्यहाँ गएको, तुरुन्तै मेरो अफिस आउनुस्’ भन्दै हप्काएका छन् ।
स्थलगत रिपोर्टिङमा गएका पत्रकारलाई समाचार नलेख्न धम्की दिनुले समेत उक्त अबैध धन्दामा उनको संलग्नता रहेको पुष्टि हुन्छ ।
अधिकारीको यस गुन्डगर्दी शैलीप्रति हामीले ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकाललाई जानकारी गराएका छौँ । उनले यस बिषयमा गम्भीर रुपमा छानबिन गर्ने र दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
एसएसपी अधिकारीको अपराधको पहाडको उचाई कति हुन्छ र सो पहाड ढल्छ कि ढल्दैन त्यो भने आगामी दिनले देखाउने निश्चित छ ।






