काठमाडौँ । पूर्वराजा श्री ५ ज्ञानेन्द्र शाहलाई नारायणहिटी राजदरबारमा राखिएको श्रीपेच लगाएर पुन: राजा बनाउन भन्दै युवाहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् ।
हजारौंको संख्यामा रहेका युवाहरु सामाखुशी हुँदै दरबारमार्गस्थित नारायणहिटी संग्राहलय पुगेका थिए । उनीहरुले नारायणहिटि दरबारको गेटमा पुगेर ‘श्रीमान् गम्भीर नेपाली ’ अर्थात् पुरानो राष्ट्रिय गान समेत गाएका थिए ।
प्रदर्शनमा सहभागी युवाहरुले नारायणहिटी सङ्ग्राहलयमा राखिएको राजाको श्रीपेच लगेर राजा ज्ञानेन्द्रलाई लगाउने बताए ।
प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा दिएको अभिव्यक्तिपछि पूर्वराजा ज्ञानेन्द्र शाहप्रति ठूला भनिएका राजनितिक दलका नेताहरुले समेत सामाजिक सञ्जालदेखि संसद्सम्म आक्रोश व्यक्त गरिरहेका छन् । तर दलका नेताको प्रवृत्तिदेखि आजित आम नागरिकले भने राजाको उक्त अभिव्यक्तिको प्रशंसा गरिरहेका छन्।







