काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले पाथीभरामा केबलकार बनाउन आवश्यक रहेको जनाएको छ। कांग्रेसले केबलकार निर्माणमा देखिएको समस्या वार्ताबाट समाधान गर्नुपर्ने तर केबलकारको बिरोध गर्न नहुने बताएको हो ।
पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले ‘नो केबलकार’ अभियानलाई समर्थन गर्न नसकिने समेत निष्कर्ष छ ।
पाथीभरा केबलकारको विषयमा असन्तुष्ट समूहको मागअनुसार वार्ता गर्ने बैठकमा सहभागी एक पदाधिकारीले बताए।
‘नो केबलकार’ समूहसँगको वार्ता निष्कर्षमा नपुगेसम्मका लागि सरकारले निर्माण कार्य स्थगित गरेको मात्र हो । तर, नो केबलकार भन्ने कुरामा हाम्रो पार्टीको सहमति छैन ।’ उनले भने
तर ‘नो केबलकार समूह’ले भने थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आन्दोलनरत समूहले बिहीबार विज्ञप्ति प्रकाशित गरी १७ गतेदेखि आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरिसकेका छन्।
कोशी प्रदेशका १४ जिल्ला, मधेश प्रदेश र राजधानी काठमाडौंमा प्रदर्शन गर्नेसम्मका कार्यक्रम छन् । बिहीबार प्रकाशित विज्ञप्तिअनुसार फागुन १७ गते कोशीका १४ वटै जिल्ला र मधेशमा जनप्रदर्शन र विरोधसभा गर्ने कार्यक्रम छ ।






