घोराही–तुलसीपुर ४ लेन सडक निर्माणका लागि बोलपत्र आह्वान

दाङ। दाङको घोराही–तुलसीपुर जोड्ने चार लेनको सडक निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । भारतीय एक्जिम बैंकको ऋण लगानीमा निर्माण हुने उक्त सडकको ठेक्का ६ वर्षअघि भारतीय कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टले पाएको थियो ।

तर उक्त कम्पनीले अन्य नेपाली ठेकेदार कम्पनीलाई जिम्मा लगाएपछि सडक निर्माणले गति लिन सकेको थिएन । पछिल्लो पटक २०७८ साल फागुन २६ गतेदेखि श्रेष्ठ कन्स्ट्रक्सनलाई सडक निर्माणको जम्मेवारी दिइएको थियो ।

उक्त कम्पनीले पनि सडकका दायाँबायाँ ठुल्ठूला खाल्डा बनाएर काम छाडेको भन्दै चौतर्फी विरोध भएपछि नेपाल सरकारले उक्त ठेक्का सम्झौता तोडेको थियो । अहिले पुनः नेपाल सरकारकै लागतमा मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले ठेक्का आह्वान गरेको हो । आयोजनाको लागत तीन अर्ब १९ करोड रहेको छ ।

मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका निर्देशक इन्जिनियर दीप बाराहीका अनुसार यही फागुन ३० गतेसम्म आवेदन गर्ने अवधि छ । उनका अनुसार विगतजस्तो कतै चार लेन र कतै दुई लेन नभइ सबै खण्डमा चार लेनको सडक हुनेछ । विगतमा बजार क्षेत्रमा दुई लेन मात्रै सडक बनाउने प्रस्ताव थियो ।

घोराहीको डिके पेट्रोलपम्पदेखि तुलसीपुरको हातीखौवासम्मको २१ किलोमिटर सडक खण्ड ३० मिटर चौडाइको हुनेछ । सम्झौता भएको ३६ महिनाभित्र काम सक्ने गरी आयोजनाको काम अघि बढ्नेछ । रासस

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *