म्यानमारविरुद्ध नेपालको बराबरी

काठमाडौँ। घरेलु टोली नेपालले चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा म्यानमारसँग २-२ गोलको बराबरी खेलेको छ।

समूह चरणको अन्तिम खेलमा दुवै टिमले बराबरी खेलेका हुन्। बराबरीपछि दुवै टिम अपराजित रुपमा फाइनलमा पुग्न सफल भए। त्यसो त समूह चरणको अन्तिम खेलअगावै फाइनल पुगिसकेकाले दुवै टिम आफ्नो शक्तिको परीक्षणका रुपमा यो खेललाइ लिए।

पहिलो हाफमा रोमाञ्चक र स्कोर भए पनि दोस्रो हाफमा भने दुवै टिमले सीमित अवसरमा गोल गर्न चुक्दा खेल बराबरीमा सकियो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा म्यानमारले म्याट नोइ खीनको गोलमार्फत छैटौं मिनेटमै अग्रता लिएको थियो।

उत्कृष्ट फ्रिकिकमार्फत खीनले गोल गरेकी थिइन्। तर त्यसको पाँच मिनेटपछि नै नेपालले खेल बराबरीमा ल्यायो। सावित्रा भण्डारीले डिबक्समा उत्कृष्ट ‘कट ब्याग’ गरेको बलमा सविता राना मगरले सहजै गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याइन्।

त्यसपछि पनि निरन्तर दुवै पक्षले खेल आफ्नो पक्षमा पार्न प्रयासरत देखिए। यस्तोमा नेपाली डिफेन्सले गरेको गल्तीमा म्यानमारले पुनः अग्रता बनायो।

म्यानमारका लागि १६ औं मिनेटमा मे हेट लुले गोल गरेकी थिइन्। तर पहिलो हाफमै टिमलाई बराबरीमा ल्याउने क्रममा सावित्रा भण्डारीले खेलको अन्तिम समयमा गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याइन्।

दोस्रो हाफमा थप स्कोर हुन नसक्दा खेल बराबरीमा सकियो। अब नेपाल र म्यानमारले १४ फागुनमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *