काठमाडाैं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना कर्मचारीहरूलाई स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्न विशेष तालिमको आयोजना गरेको छ । स्तन क्यान्सर आत्ममूल्यांकन तालिम वरिष्ठ सर्जन डा. सुजिता हिराचनको नेतृत्वमा सम्पन्न भएको हो ।
तालिममा स्तन क्यान्सरको प्रारम्भिक मूल्यांकन, लक्षण पहिचान, आत्मपरीक्षणको महत्व तथा उपचार प्रक्रिया सम्बन्धी महत्वपूर्ण विषयहरू समेटिएका थिए । डा. हिराचनले स्तन क्यान्सरका प्रारम्भिक लक्षणहरू, जस्तै स्तनमा गाठा, साना पोर्स वा कोठीजस्ता परिवर्तन पहिचान गर्ने तरिका सिकाउँदै समयमै परीक्षण र उपचार गरिएमा स्तन क्यान्सर निको पार्न सकिने स्पष्ट पारे ।
स्तन क्यान्सर महिलामा मात्र नभई पुरुषहरूमा पनि देखिन सक्छ भन्ने जानकारी दिँदै उनले प्रारम्भिक चरणमै रोग पहिचान गरेर उपचार सुरु गरिएमा रोगलाई पूर्ण रूपमा निको पार्न सकिने सम्भावना उच्च हुने बताए ।
तालिमको क्रममा बैंकका केही क्यान्सर विजेता कर्मचारीहरूले आफ्ना व्यक्तिगत अनुभवहरू साझा गर्दै सबैलाई हरेक ५–६ महिनामा स्तन क्यान्सरको नियमित परीक्षण गर्न प्रेरित गरे । उनीहरूका अनुसार, परिवारको माया, मनोबल, र समयमै गराइएको उपचार नै क्यान्सरलाई जित्ने प्रमुख आधार हो ।
कामना सेवा विकास बैंकले आगामी दिनहरूमा पनि यस्ता स्वास्थ्य सचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । बैंकका अनुसार, यस्ता कार्यक्रमहरूले कर्मचारीहरू मात्र नभई सम्पूर्ण समाजमा क्यान्सर सम्बन्धी सचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
डा. सुजिता हिराचन त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, प्रिमेरा अस्पताल, तथा नेपाल ब्रेस्ट क्यान्सर फाउन्डेसनसँग आबद्ध छन् । ब्रेस्ट तथा थाइराइड अंकोसर्जरीमा १४ वर्षभन्दा बढीको विशेषज्ञ अनुभव बोकेकी डा. हिराचनले ब्रेस्ट क्यान्सर बिरामीहरूको उपचार तथा जीवनदर सुधारमा महत्वपूर्ण योगदान पुर्याइरहेका छन् ।







