फागुन १८ गतेदेखि एभरेष्ट बैंकले ऋणपत्र निष्कासन गर्दै

काठमाडाैं । एभरेष्ट बैंकले फागुन १८ गतेदेखि ऋणपत्र बिक्री खुला गर्ने भएको छ। बैंकले १० वर्ष अवधिको वार्षिक ७.५० प्रतिशत ब्याजदरमा ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ निष्कासन गर्न लागेको हो।

बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो। सोमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रूपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रूपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ।

सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ। सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १२ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। उक्त ऋणपत्रमा फागुन २१ गतेसम्म आवेदन दिन सकिन्छ। उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि चैत ३ गतेसम्म लम्बिनेछ।

बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *