काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले सरकारले ल्याएको अध्यादेश घाँटीमा अड्केको हड्डीजस्तै भएको बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै नेता शर्माले अध्यादेश छिटो छलफलमा ल्याउनुपर्ने बताए ।
शर्माले भने, ‘मिठो कुरा पनि घाटीमा अड्कियो भने त्यसको स्वाद आउँदैन । आज अध्यादेश कहाँ अड्किरहेका छन् ? एजेण्डामा छलफल गर्न किन पछि परिरहेको छ ? त्यसलाई छिटो छलफलमा ल्याउनुपर्यो ।’
उनले छलफलमा राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सकिने भन्दै त्यो घाटीमा अड्किएको हड्डीरुपी अध्यादेश छलफलमा ल्याउन सुझाव दिए । संसदमा सांसद आफैले विधि नमान्ने गरेको भन्दै शक्ति र पावरले विधि मान्नुनपर्ने नेपाली प्रवृत्तिको विकास हुँदै आएकोमा चिन्ता प्रकट गरे ।
संसदमा हुने छलफल र बहसले समाजमा के रूपान्तरण भइरहेको छ भनेर बहस गर्नुपर्ने बेला भएको बताए । ‘तथ्य र परिणाम लुक्दैन । जनताले हेर्ने परिणाम हो । आग्रह पूर्वाग्रहपूर्ण संसदको बहसलाई बनाउनु हुँदैन । बहस अन्तैअन्तै गइरहेका छन्’, उनले भने, ‘सरकार ढल्यो ढल्यो.. वा बच्योसँग जनतालाई कुनै चासो र सरोकार छैन’, शर्माले भने, ‘जनजीविकाका सवालमा सरकारले के गर्छ ?चासो जनतालाई यो छ’, उनले जनजीविकाका सवालमा बहस गर्न आवश्यक रहेको, संविधानले गरेको व्यवस्थाअनुसार किड्नीलगायतका रोगीहरूका उपचार कसरी गर्ने ? भनेर बहस गर्नुपर्ने बताए । रोगी र बिरामीहरूलाई कसरी उपचार सेवा दिन सकिन्छ भनेर र शिक्षाको सुधारको बहस हुनुपर्ने शर्माको जोड छ ।
‘हामी यो छलफल नगरेर एकले अर्कोलाई दोषी करार गर्नेतिर भयो । भ्रष्टाचारका सवालमा क्यान्टोमेन्ट होस् वा अरू शक्तिशाली आयोग बनाएर छानबिन गरौँ’, शर्माको चुनौती छ।
उनले देशमा रोजगारी सिर्जना गर्न सकिन्छ भनेर बहस गर्नुपर्ने, बाझो जमिन प्रयोगको नीति बनाएर उत्पादनमा बदल्नेजस्ता विषयमा बदलेर बरालिएको राजनीतिलाई सही दिशामा ल्याउनुपर्ने पनि बताए । ‘यहाँ सत्ता, बहुमत र दुई तिहाइको बलमा होइन, अध्यादेशकै सवालमा लेनदेन हुन्छ कि भन्ने प्रश्न उठिरहेको छ’, शर्माले भने, ‘यसको जवाफ लोकतान्त्रिक तरिकाले दिनुपर्छ ।’







