आशिकालाई भेटेपछि सुमना भन्छिन्, ‘राज्यले नागरिकलाई ‘पख् देखाइदिन्छु’ भन्दै छ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा पूर्वमन्त्री सुमना श्रेष्ठले आशिका तामाङलाई तत्काल रिहा गर्न माग गरेकी छन्।

बिहीबार जिल्ला प्रहरी कार्यालय भक्तपुरको हिरासतमा आशिकासँग भेटेपछि उनले तत्काल रिहा गर्न माग गरेकी हुन्। आशिकाविरुद्ध सरकार ‘देखाइदिन्छु’ भन्ने शैलीमा प्रस्तुत भएको उनको आरोप छ। सरकारले यस्तो रवैयाले समाजमा गुम्सिएको आक्रोश एक दिन विष्फोट हुने उनको दावी छ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्,- ‘यो त सरासर “हाम्रो विरोध गर्छस् ! पख् देखाइदिन्छु” भनेको होइन? योभन्दा गम्भीर घटना शिक्षालयमा तालबन्दी/तोडफोड गर्ने दल संरक्षितहरूलाई केही नगर्ने, प्राध्यापक कुट्नेलाई विदेश जान दिने, दिनमा फरार रातमा प्रहरीकै कार्यक्रममा सरिक भएको पनि देखेकै हो हामीले।’

शक्तिकेन्द्रसम्म पहुँच नभएकाहरुलाई सरकारको पेल्ने नियत देखिएको उनको भनाइ छ। उनी भन्छिन्,’अहिले आशिकाजीको सट्टा कुनै दल निकट कोहीलाई प्रकाउ गर्ने कुरा मात्र उठेको भए के भइसक्थ्यो हामीले नभोगेको हैन। शक्तिकेन्द्रसम्म पहुँच नभएकोलाई मात्र पेल्ने नियत भो।’

उनले सरकारले आशिकालाई यातना दिएको आरोप लगाएकी छन्। ‘राज्यसँग अपार शक्ति छ, शक्तिशालीले संयमित हुनुपर्दछ। राज्यले अभिभाकत्व लिनुपर्ने ठाउँमा – अस्ति चितवनमा युवकलाई निर्घात कुट्नु र अहिले आशिकाजीलाई मानसिक यातना दिनुमा समानता छ – राज्यको अनावश्यक बल प्रयोग।,’ उनले भनिन्।

प्रहरीले नागरिकमाथि गरेको ज्यादतिमा गृहमन्त्रीको मौन समर्थन रहेको उनको दावी छ। उनले भनिन्,’गृहमन्त्रीज्यू यसमा तपाईंको मौन समर्थन प्रष्ट छ, नत्र प्रहरीले यत्रो ज्यादति गर्ने थिएन। यसरी प्रहरीको गिरफ्तारी गर्नुअघि के उहाँलाई उपमेयरको समक्ष न्यायिक समितिमा लगियो? के उहाँलाई मौखिक चेतावनी दिइयो ?’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *