काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक समस्याका कारणले उद्योगहरूमा विद्युत कटौती गरेको बताएका छन् । बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै उनले केही प्रसारण लाइनहरू मर्मत गर्नुपर्ने भएका कारण उद्योगहरूमा विद्युत आपूर्ति बन्द गर्नुपरेको स्पष्ट पारेका हुन् ।
उत्पादनभन्दा माग बढी भएका कारण उद्योगहरूमा विद्युत कटौती गर्नुपर्ने बाध्य भएको उनको भनाइ छ । उनले प्राधिकरणले बिहान र बेलुकाको (पिक डिमाण्ड)को समयमा बिजुली कटौती गरिएको बताए ।
उनले अप्पर तामाकोशीमा गत असोजमा आएको बाढीले क्षति पुर्याउँदा र कालीगण्डकी प्रोजेक्टको एउटा युनिट बन्द हुँदा विद्युत आपूर्तिमा समस्या आएको बताए । उनलेअप्पर तामाकोशी र कालीगण्डकीबाट पूर्ण क्षमतामा विद्युत प्रवाह भएपछि लोडसेडिङको समस्या समाधान हुने बताए ।
‘बाढीले अप्पर तामाकोशी ड्यामेज गरेको छ । बनाउँदैछौं । कालीगण्डकी प्रोजेक्टको एउटा युनिट बन्द छ। एउटा जेनेरेटरमा समस्या आएको छ । मर्मत हुँदैछ । ५०० मेघावाटको पिकिङ प्लान्टहरू अहिले बन्द छन् । त्यति गर्दा पनि लोडसेडिङ हुन दिइरहेका छैनौं, ‘उनले भने,’ बेलुका र बिहानको पिक समयमा उद्योगहरूलाई कम चलाउनुस् भनेका हौं ।
उनले लोडसेडिङ हुँदा रमाउने जमात बढेको बताए । उनले लोडसेडिङ हुँदा खुसी हुनेहरूले नै लोडसेडिङको हल्ला फैलाएको भन्दै आपत्ती जनाए ।






