काठमाडौँ । कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीविरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। अधिकारीविरुद्ध मुद्दा चलाउन माग गर्दै परेको रिट निवेदन सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको हो।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अधिकारीविरुद्ध मुद्दा चलाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दर्ता गर्न खोजे पनि प्रशासनले दरपीठ गरेको हो। सर्वोच्चका रजिष्ट्रार भद्रकाली पोखरेलले उक्त रिट दर्ता नमिल्ने आदेश गरेका हुन्।
यसअघि अधिकारी मानव तस्करी प्रकरणमा निर्दोष रहेको ठहर गर्दै काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले उनीमाथि मुद्दा नचलाउने निर्णय गरेको थियो। नक्कली कागजात बनाई जापान लैजाने अपराधमा मन्त्री अधिकारी संलग्न नरहेको पुष्टि हुन आएकाले उनीमाथि मुद्दा नचलाउने निर्णय कार्यालयले गरेको थियो।








