काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपिएल)का लागि कर्णाली याक्सले मुख्य प्रायोजकमा अटोमोबाइल उत्पादक कम्पनी महिन्द्रा, अग्नि ग्रुपसँग सम्झौता गरेको छ ।
शुक्रबार नक्सालको हिल्टन होटेलमा दुई पक्षबिच सम्झौता भएको हो। सम्झौतामा कर्णाली याक्सका मालिक झनकदत्त खनाल र महिन्द्राकी उपाध्यक्ष वेदा सताशा श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सका उपाध्यक्ष सुजन खनाल, कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरे, महिन्द्रा रिसर्च एन्ड डेभलपमेन्ट म्यानेजर वेदान्त श्रेष्ठ, मार्केटिङ म्यानेजर सन्तोषी नेपाल, फेस अफ कर्णाली याक्स स्वस्तिमा खड्का, योंगेस्ट फेस अफ कर्णाली याक्स अर्पित कार्कीको उपस्थिति थियो ।
सम्झौतापछि बोल्दै महिन्द्रा, अग्नि ग्रुप उपाध्यक्ष श्रेष्ठले कर्णाली याक्ससँग जोडिन पाउँदा खुसी भएको बताउँदै शुभकामना व्यक्त गरिन् । ‘आगामी लिगका लागि कर्णाली याक्ससँग जोडिन पाउँदा खुसी छौँ। कर्णाली याक्सलाई प्रतियोगिताका लागि शुभकामना,’ उनले भनिन् ।
यसैगरी, कर्णाली याक्सले स्ट्रेन्थ पार्टनरमा टेन प्लास्ट र फेन्टासी पार्टनरमा ड्रिम ११ सँग सम्झौता गरेको छ । कार्यक्रममा टेन प्लास्टका अध्यक्ष धीरज अग्रवाल र ड्रिम ११ का सिइओ अनिल रिजालको उपस्थिति थियो ।
ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले चार विदेशी खेलाडी अनुबन्ध गरेको छ । कर्णाली याक्सले गत साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरिसकेको छ ।
त्यस्तै, टोलीले वेस्टइन्डिजबाट टेस्ट खेलिसकेका चाडविक वाल्टन, हङकङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका अनुभवी खेलाडी बाबर हायात र ओमानका पूर्वकप्तान जिसन मक्सुदलाई अनुबन्ध गरेको छ ।
टोलीमा नेपाल राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्सन झा, देव खनालसहित नन्दन यादव छन्। ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित ऋत गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिसविक्रमसिंह ठकुरीसँगै दीपक डुम्रे छन् । ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मा आइकोनिक प्लेयर्सका रूपमा छनोट भइसकेका छन् ।
यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ । युथ एम्बेस्डरमा सिसन बानियाँ छन् । हस्पिटालिटी पार्टनरमा होटेल हिल्टन रहेको छ। मंसिर १५ देखि पुस ६ सम्म हुने प्रतियोगितामा कर्णाली याक्सले आफ्नो पहिलो खेल जनकपुरसँग खेल्नेछ ।
अर्थ सन्जाल