अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । मन्त्रालयले सचिव मधु मरासिनीको संयोजकत्वमा छनोट तथा सिफारिस समिति गठन गरी आवश्यक प्रक्रिया अगाडी बढाउको हो ।
समितिमा मरासिनीको संयोजकत्वमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँल र विज्ञ सदस्य डा. नारायण प्रसाद पौडेललाई सदस्य बनाइएको छ ।
मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै बोर्डमा रिक्त रहेको अध्यक्ष पदका लागि योग्य नेपाली नागरिकलाई १५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ । मन्त्रालयले खुल्ला प्रतिष्पर्धाबाट अध्यक्ष छानिने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकले कात्तिक २५ गतेभित्र अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य शिलबन्दी आवेदन दिन सक्ने जनाएको छ ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १० बमोजिम योग्यता तोकेको हो । धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा ७ वर्ष पेशागत अनुभव हासिल गरेको व्यक्ति हुनुपर्ने छ । अध्यक्ष हुन ३० वर्ष पूरा भएर ६० वर्ष ननाघेको हुनुपर्नेछ ।अध्यक्षका लागि दरखास्त पेश गर्दा ५ हजार शब्दमा नबढ्ने गरी व्यवसायीक कार्ययोजना प्रस्तुत गर्नुपर्ने सूचनामा उल्लेख रहेको छ ।
बोर्डको अध्यक्षका लागि कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासकीय अधिकृत तथा आइक्यानका अध्यक्ष कृष्णप्रसाद आचार्य, राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक शिवनाथ पाण्डे, बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाई र बोर्डकै कार्यकारी निर्देशक निरज गिरीको नाम चर्चामा रहेको छ ।







