काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुलाई समयमै वार्षिक नवीकरण शुल्क बुझाउन निर्देशन दिएको छ ।
चालु आर्थिक वर्ष २०८१–८२ को वार्षिक नवीकरण शुल्क असोज मसान्तसम्ममा बुझाउन सूचीकृत कम्पनीहरुलाई नेप्सेले निर्देशन दिएको हो ।
नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ (क) र (ख) मा भएका व्यवस्था अनुसार वार्षिक नवीकरण शुल्क बुझाउन निर्देशन दिएको हो । सूचीकृत कम्पनीहरुलाई ग्लोबल आइएमई बैंक, कमलादीमा गई नेप्सेको आधिकारीक बैंक खातामा नवीकरण शुल्क बुझाउन भनेको छ ।
नेप्सेमा सूचीकृत ५० करोड रुपैयाँसम्मको चुक्ता पूँजी भएका कम्पनीले ५० हजार र ५० करोड रुपैयाँभन्दा माथि चुक्ता पूँजी भएकाले १ लाख रुपैयाँ बराबरको नवीकरण शुल्क बुझाउनु पर्ने सूचनामा उल्लेख छ ।
यस्तै ५० करोड रुपैयाँसम्मको चुक्ता पूँजी भएका डिबेञ्चर र म्युचुअल फण्डले २५ हजार रुपैयाँ र ५० करोडभन्दा माथि चुक्ता पूँजी भएकाले ५० हजार रुपैयाँ नवीकरण शुल्क तिर्नु पर्ने हुन्छ ।
यस्तो रकम ग्लोबल आइएमई बैंकमा रहेको नेप्सेको खातामा जम्मा गर्न सकिनेछ । तोकिएको समयमा रकम नबुझाएमा नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने साथै धितोपत्र सूचीकरण विनियमावली २०७५,को विनियम १६ अनुसार सूचीकरण स्थगन समेत गर्न सकिने नेप्सेले जनाएको छ ।







