काठमाडौं । नेपालमा अग्रणी जीवन बीमा कम्पनी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय सहयोग संस्था रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ को सहकार्यमा देशका विभिन्न भागमा सञ्चालन हुने ‘आधारभूत शिक्षा तथा साक्षरता’ कार्यक्रममार्फत पिछडिएका वर्गको साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले सहयोग गर्न दुई संस्थाबीच यही भदौ २३ गते सहमति हस्ताक्षर गरेको छ ।
उक्त सहमतिपत्रमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको तर्फबाट सञ्चालक समितिका अध्यक्ष रतनलाल केडिया र रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ को तर्फबाट अध्यक्ष राजेन्द्रमान शेरचनले हस्ताक्षर गरेका छन् । कार्यक्रममा बीमा कम्पनीको तर्फबाट सञ्चालक भरतकुमार तोदी, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ तर्फबाट अन्य पधाधिकारीको उपस्थिति रहेको थियो ।
सहमतिअनुसार सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले उक्त संस्थालाई रु ५ लाख रकम प्रदान गर्नेछ । उक्त रकम मध्ये रु २.५ लाख शौचालय निर्माणका लागि र बाँकी रकम संस्थाको बिभिन्न रोटरी क्लबहरु मार्फत देशका सामुदायिक तथा सार्बजनिक स्कूलहरुमा संचालन हुने टिच कार्यक्रमअन्तर्गत युवा साक्षरता प्रयोजनका लागि उपयोग गरिने जनाइएको छ ।
कार्यक्रममा अध्यक्ष केडियाले सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी समाजमै रहेर गरिने व्यवसायमा सफल हुन समाजलाई नै सफल बनाउनुपर्छ भन्ने मान्यतामा अघि बढेको र संस्थागत नागरिकको भूमिकामा सामाजिक विकाशको बिभिन्न क्षेत्रमा योगदान दिन सदैब तत्पर रहेको बताए । साथै “आधारभूत शिक्षा तथा साक्षरता” कार्यक्रममार्फत आधारभूत शिक्षा पनि नपाएका बर्गले शिक्षाको उज्यालो घाम देख्न पाउने विश्वास व्यक्त गरे ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १७० शाखा तथा उपशाखाहरु, ५० हजारभन्दा बढी अभिकर्ताहरु तथा १८ वटा योजनाहरु मार्फत जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ । हालसम्म ९ लाख पचास हजार भन्दा बढी व्यक्तिले कम्पनीबाट जीवन बीमा सेवा प्राप्त गरेका छन् ।
अर्थ सन्जाल