उपभोक्ताले तिरेको भ्याटको १० प्रतिशत रकम फिर्ता हुने

काठमाडौं । सेवा खरिदमा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा उपभोक्तालाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको १० प्रतिशत रकम फिर्ता दिने निर्णय भएको छ ।

आन्तरिक राजस्व विभागले एक सूचना प्रकाशित गर्दै आम उपभोक्ता, व्यवसायी तथा सरोकारवाला सबैलाई कार्यान्वयन गर्न सूचित गरिएको हो ।

उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको दश प्रतिशत फिर्ता हुने सेवाहरूमा मदिरा पिउने केन्द्र (बार) बाट प्रदान गरिने सेवा, चमेनागृह/रेस्टुरेन्टबाट प्रदान हुने सेवा र सबै प्रकारका होटल, मोटल, लज, गेस्टहाउस व्यवसायहरूबाट प्रदान गरिने सेवा रहेका छन् ।

विभागले भदौ २१ गते मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २५ को उपदफा (१) को खण्ड (ख) मा “कुनै उपभोक्ताले विभागले सूचना प्रकाशन गरी निर्धारण गरेको वस्तु तथा सेवा खरिद गर्दा त्यस्तो खरिदको मूल्य प्रचलित कानुन बमोजिम विद्युतीय माध्यमबाट भुक्तानी गरेमा निजलाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको दश प्रतिशत रकम विभागले तोकेको प्रक्रिया बमोजिम निजको बैंक खातामा फिर्ता गरिनेछ” भनी व्यवस्था गरे बमोजिम निर्णय गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *