१८ र १९ चैतमा राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुने

नेपाल क्योकूशिन बुदो कराँते साकाई इन्टरनेसनलको आयोजनामा दोस्रो राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आगामी १८ र १९ चैतमा आयोजना गर्न लागिएको हो ।

नेपाली खेल जगतमा छुट्टै पहिचान बनाउने उद्देश्य राखेर २०७४ सालमा स्थापना भएको नेपाल फुल कन्ट्याक्ट कराँते महासंघले पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार नेपाल क्योकूशिन बुदो कराँते साकाई इन्टरनेसनलको मुख्यालय बेलायतमा छ । खेलकुद क्षेत्रको सर्वेाच्च निकाय राष्ट्रिय खेलकुद परिषदमा सदस्यता लिई आफ्नो गतिविधिलाई निरन्तरता दिई रहेको महासंघले गर्न लागेको यो प्रतियोगिता राष्ट्रियस्तरको हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार नेपाली फुलकन्ट्याक्ट कराँते साकाइ इन्टरनेसनलले यसमा आवद्ध  रहेका सम्पूर्ण खेलाडी, खेलप्रेमी, निर्णायक र प्रशिक्षकहरूलाई एकतावद्ध गराएर नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । साथै फुलकन्ट्याक्ट कराँते महासंघसँग आवद्ध सम्पूर्ण  खेलाडीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने सम्बन्धित निकायहरूको समन्वयात्मक भूमिका निर्वाह गरी एक जिम्मेवार संघको रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान बनाउन सफल हुने लक्ष्यमा लम्किरहेको समेत जनाएको छ ।

यसअघि ४ र ५ फागुन २०७४ मा संघले प्रथम राष्ट्रव्यापी  खुल्ला फुलकन्ट्याक्ट  क्योकूशिन बुदो कराँते प्रतियोगिता २०७४ काठमाडाैंको स्वयम्भू भुइँखेलमा सम्पन्न गरेको थियो । त्यस्तै सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा विन्टर क्याम्प, नेपालको पर्यटकीय स्थल चितवनको सौराहामा समर क्याम्प र दोलखाकाे चरिकोटमा विन्टर क्याम्प सम्पन्न गरेको थियो । संघले ४३ जना खेलाडीलाई इन्टरनेसनल ब्ल्याक बेल्ट टेष्ट र २५ जना खेलाडीलाई नेशनल ब्ल्याक बेल्ट टेष्ट वितरण गरिसकेको छ ।्

यस पटक आयोजना गरिएको प्रतियोगितामा काठमाडाैं, भक्तपुर, ललितपुर, दोलखा, काभ्रे, बारा, पर्सा, महोत्तरी, मकवानपुर, चितवन,  कास्की, मोरङ, स्याङ्जा, सिन्धुली लगायतका जिल्लाहरुबाट १५० देखि २०० सम्मको संख्याका खेलाडीहरूले सात वटा तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

जसमा पुरुष तौल समूह ३५ केजीमुनि, ५५ केजीमुनि, ६० केजीमुनि  र ६० केजीमाथि (खुल्ला) तथा महिला समूहमा ५० केजीमुनि, ५५ केजीमुनि र ५५ केजी माथि(खुल्ला) सहभागिता रहने छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *