काठमाडाैं । एनआईसी एशिया क्यापिटलको आठौं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्तापूँजीको ५२.५३ प्रतिशत (करसहित) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यसैगरी, सोही सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरण पारित गरेको छ ।
सभामा कम्पनीका अध्यक्ष सन्तोष कुमार राठीले २० करोड चुक्तापूँजी भएको कम्पनीले समीक्षा अवधिमा ३० करोड रुपैयाँभन्दा बढी आम्दानी गरी १२ करोड १६ लाख भन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको बताए । IDEA to IPO सेवा अन्तर्गत १७ वटा कम्पनीको धितोपत्र निष्कासन कार्य सम्पन्न गरिसकेको पनि उनले बताए ।
त्यस्तै सभामा व्यवसायतर्फ असार मसान्तसमममा ७ लाख ३९ हजार ८६८ डिम्याट खाता खोल्न सफल भएको, म्युचुअल फण्ड सेवा अन्तर्गत ५ वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्मक ६ वटा योजना मार्फत ५ अर्व ५२ करोड रुपैयाँभन्दा बढी रकम व्यवस्थापन गर्न सफल भएको जानकारी दिएको थियो ।
लगानी व्यवस्थापन सेवा अन्तर्गत ७०४ जना ग्राहकहरुबाट २ अर्व ११ करोड रुपैयाँभन्दा बढीको रकम व्यवस्थापन गर्न सफल भएको तथा शेयर रजिष्ट्रार सेवा अन्तर्गत २४ वटा कम्पनीलाई सेवा उपलब्ध गराइरहेको पनि सो अवसरमा जानकारी दिइएको थियो ।
साथै क्यापिटलले आठौं वार्षिक साधारण सभामा प्रस्ताव गरेको लाभांश सहित आफ्नो सेयरधनीलाई हालसम्म २४० प्रतिशत रिर्टन वितरण गर्न सफल भएको जानकारी अध्यक्षले गराएका थिए ।
अर्थ सन्जाल