काठमाडौं । मुलुकको अग्रणी वित्तीय संस्था नबिल बैंक लिमिटेडले आफ्नो स्थापनाको ४० वर्ष पूरा गरेको छ । बैंकिङ क्षेत्रमा उदाहरणीय पहिचान बनाएको नबिल बैंकले ४१औं वर्षमा प्रवेश गरेको छ ।
४०औं वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न नयाँ योजनाहरू सार्वजनिक गरेको छ । बैंकले स्थापनाकालदेखि नै आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल डिजिटल बैंकिङ सेवालाई विशेष प्राथमिकता दिएर सेवा सञ्चालन गरिरहेको छ ।
नबिल बैंककाअनुसार हाल एनबैंक मार्फत ६० भन्दा बढी सेवा मोबाइलबाट उपलब्ध गराइरहेको छ ।
सन् १९८४ मा नेपाल अरब बैंकका नाममा स्थापना भएको नबिल बैंकले बैंकिङ क्षेत्रमा पृथक पहिचान बनाएको छ । यही पहिचानलाई अझ बलियो बनाउनका लागि बैंकले आकर्षक कार्यक्रमहरू सार्वजनिक गरेको छ ।
४०औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र ढुंगानाले दिगो बैंकिङका योजना मार्फत कार्बन उत्सर्जन कम गर्न, हरित प्रविधिमा लगानी गर्न, र सामाजिक-आर्थिक विकास प्रवर्धन गर्ने परियोजनाहरू अघि बढाउने बताए ।
उनले यस अवसरमा ग्राहक, कर्मचारी, र शेयरधनीलाई धन्यवाद व्यक्त गर्दै दिगो सम्बन्ध कायम राख्ने प्रतिबद्धता जनाए । उनले बैंकले नवप्रवर्तन र प्रविधिमार्फत सरल सेवामा विशेष ध्यान दिएको बताए ।
नबिल बैंकले नेपालमा पहिलो पटक कम्प्युटराइज्ड बैंकिङ, एटिएम, मोबाइल बैंकिङ, मास्टर कार्ड, डेबिट कार्ड, कन्ट्याकलेस पेमेन्ट कार्ड र नियो बैंकिङ सेवा सुरु गरेको थियो ।
४१औं वर्ष प्रवेशको अवसरमा नबिल बैंकका आकर्षक कार्यक्रम
४० वर्ष पूरा भएको अवसरमा नबिल बैंकले ‘द नविल ढुक्क घर कर्जा’ योजना ल्याएको छ । यस योजनामा सात वर्षे अवधिको कर्जाको व्याजदर ८.४ प्रतिशत र १० वर्षे अवधिको कर्जाको व्याजदर ९.४ प्रतिशत निर्धारण गरिएको छ । यो योजना जुलाई १२ देखि ४० दिनसम्म मान्य हुनेछ ।
नयाँ खाता खोल्दा विभिन्न सुविधाको अफर ल्याएको बैंकले जनाएकाे छ । जुलाई १२ देखि अगस्ट २० सम्म नयाँ खाता खोल्दा एटिएम शुल्क, क्रेडिट कार्ड, लकर चार्ज, एनबैंक तथा एनबैंक एपको शुल्कमा ५० प्रतिशत छुट उपलब्ध गराइएको छ।
साना तथा मझौला उद्यममा एक करोड रुपैयाँसम्मको कर्जा आधार दरमा एक प्रतिशत प्रिमियममा उपलब्ध गराइनेछ । कृषि तथा उत्पादनमूलक उद्योगमा पाँच करोड रुपैयाँसम्मको कर्जा आधार दरमा ११५ प्रतिशत प्रिमियममा उपलब्ध गराइनेछ।
निजी क्षेत्रको पहिलो वाणिज्य बैंक नविल बैंकले देशभर २६८ शाखा, २२ एक्सटेन्सन काउन्टर, र ३१६ एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ। यस बैंकले हाल २२ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।







