मनकामना केवलकारलाई ५० करोड खर्चिएर स्तरोन्नति गरिँदै

काठमाडौं । स्तरोन्नतिका लागि मनकामना केबलकारको सञ्चालन बन्द गरिने भएको छ । स्तरोन्नति कार्यमा करिब ५० करोड रुपैयाँको लगानी हुने कम्पनीको भनाई छ ।

२६ वर्ष अगाडि जडित केबलकार क्रमिक रूपले समय अनुरूप धेरै विकास भइसकेको र हाल निर्माता कम्पनी डोपलमायरले समेत यसका पार्टपुर्जा आदि दिन निकट भविष्यमा समस्या रहने र निर्माता कम्पनीकै सुझावमा समय सापेक्ष अनुसार केबलकारको स्तरोन्नति गर्न लागिएको हो ।

डोपलमायरको प्राविधिकहरू नै आएर गर्ने सो कार्य गर्न कम्तीमा ५० दिन लाग्ने प्राविधिकहरूको अनुमान छ । तर मौसम आदि अन्य कुराको आधारमा अनुमानित समयभन्दा चाँडो पनि हुन सक्ने वा लम्बिन सक्ने कम्पनीको भनाई छ ।

निर्देशक राजेश बाबु श्रेष्ठ भन्छन्, ‘हाम्रो प्रविधि एनालगमा आधारित प्रविधि हो र यसमा जडित मेन मोटर डीसी करेन्टबाट चल्दछ । हाल स्तरोन्नति हुने प्रविधि डिजिटल र नवीनतम प्रविधि हो र यसलाई डोपलमायरको डी–कनेक्ट सिस्टम भनिन्छ । यसमा सम्पूर्ण डिजिटल प्रविधिबाट चल्नुका साथै यसको मेन मोटर अब एसी ब्ऋ करेन्टबाट चल्नेछ । पुरानो मोटर, कन्ट्रोल सिस्टम, प्यानलहरू सबै यसै प्रणालीमा आधारित हुने भएकोले सबै नै मुख्य मेशिनरीहरू सोही अनुसार फेरिने हुन्छ । केबुलको लम्बाइ ३२ सय मिटरको हुनेछ ।

साथै, मेन केबुल तार लट्ठा पनि क्रमशः पुरानो भएकाले सोसमेत यसैपटक रोकिएको अवधिमा फेरिनेछ, जसको लम्बाइ करिब ६ हजार पाँच सय मिटरको हुने बताइएको छ । केबुलकारको स्तरोन्नतिका लागि अस्ट्रियाबाट प्राविधिक नेपाल आइसकेका छन्।

केबलकारको सबैभन्दा सुरक्षा दृष्टिकोणले मुख्य मानिने ग्रुपहरू, जसको माध्यमबाट गन्डोला तारमा झुन्डिने हुन्छ, सम्पूर्ण फेर्ने कार्य २ वर्ष अघि नै सम्पन्न गरिसकेको श्रेष्ठको भनाई छ ।

केबलकार तल्लो स्टेसनमा रहेको रेस्टुरेन्ट बन्द अवधिभर यथावत् सञ्चालन भई सेवा प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *