‘कारबाहीमा परेपछि भ्रम फैल्याउँदै हिँडे व्यवसायी नरेन्द्रकुमार गुप्ता’

काठमाडौं । पदीय मर्यादा र संस्थाको विधानविपरीत गतिविधि र अभिव्यक्तिका दिएको भन्दै कारबाहीमा परेका नेपाल रत्न तथा आभूषण संघका पूर्व पदाधिकारी नरेन्द्रकुमार गुप्ताले नेपाल रत्न तथा आभूषण संघका पदाधिकारी, पूर्वपदाधिकारी र मन नपरेका व्यवसायीविरुद्ध भ्रामक हल्ला फैल्याएको संघले जनाएको छ ।

गुप्ताको प्रचारवाजीबाट भ्रमित नहुन पनि संघले सर्वसाधारण र सरोकारावालालाई आग्रह गरेको छ । संघले एक विज्ञप्ति प्रकाशित गरी कारबाहीपछि गुप्ताले संघका बहालवाला पदाधिकारी, पूर्वपदाधिकारी, नेपाल रत्न तथा आभूषण महासंघका पदाधिकारी, पूर्वपदाधिकारीलगायत नेपाल सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीविरुद्ध शृंखलाबद्ध रुपमा भ्रम छर्न थालेको जानकारी दिएको छ ।

‘उहाँकै नेतृत्वमा रहेको समितिले दिएको सुझाव अनुसारको स्वचालित सुन वितरण प्रणालीमाथि पनि उहाँले प्रश्न उठाउनुभएको छ,’ संघको विज्ञप्तिमा भनिएको छ, ‘जबकि उक्त प्रणालीप्रति उहाँबाहेक संघका कुनै पनि सदस्यले असन्तुष्टि व्यक्त गरेका छैनन् ।’

सुन वितरण प्रणालीमाथि शंका लागे चुप लागेर नबस्न पनि संघले सम्पूर्ण सदस्यहरुलाई अनुरोध गरेको छ । अहिले कार्यान्वयनमा रहेको सुन वितरण प्रणालीले २०७५ सालमा गुप्ताकै संयोजकत्वमा गठित समितिले दिएको सुझावअनुसार काम गरिरहेको संघले स्पष्ट पारेको छ ।

संघमा वरिष्ठ उपाध्यक्ष भइसकेका गुप्ताले पदीय मर्यादाविपरीत संघका पदाधिकारीविरुद्ध गम्भीर आरोप लगाएको भन्दै संघले २०८० फागुन २३ गते उनीसँग स्पष्टीकरण मागेको थियो । गुप्ताले २०८० चैत ८ गते स्पष्टीकरण दिएका थिए ।

स्पष्टीकरणमा उनले पदाधिकारीविरुद्ध लगाएका गम्भीर आरोप पुष्टि गर्ने कुनै प्रमाण प्रस्तुत गर्न नसकेको भन्दै संघले गएको चैत २२ गते सम्पन्न संघको कार्यसमिति बैठकबाट साधारण सदस्यसमेत नरहनेगरी बर्खास्त गरेको थियो ।

‘उहाँमाथि अन्याय भएको र उहाँले लगाउनुभएका आरोप सत्य भए उहाँसँगै अरुले पनि आवाज उठाउनुपर्ने होइन र ?’ संघको विज्ञप्तिमा भनिएको छ । संघले कारबाही गरेपछि गुप्तालेले सञ्चारमाध्यमलाई संघका पदाधिकारीविरुद्ध सूचना उपलब्ध गराएर समाचार लेखाएको संघको आरोप छ ।

गुप्ताले संघका बहालवाला एवं पूर्वपदाधिकारीबाहेक नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल चुनचाँदी रत्न तथा आभूषण महासंघका पदाधिकारीलाई समेत बिनाआधार गम्भीर लान्छाना लगाउन थालेपछि २०८० फागुन १३ गते दुवै महासंघ र अन्य सरोकारवालासमेतको भेलाले सत्यतथ्य सार्वजनिक गरेको थियो ।

उक्त भेलाले गुप्ता स्वयं विवादास्पद पृष्ठभूमिका व्यक्ति भएको र आफ्ना शंकास्पद गतिविधिमा हुन सक्ने छानबिनबाट सरोकारवाला र नियामक निकायको ध्यान अन्यत्रै मोड्न प्रतिस्पर्धी व्यवसायी र विभिन्न संघसंस्थाका पदाधिकारीविरुद्ध अफवाह फैलाएको निष्कर्ष निकालेको थियो ।

उक्त भेलाले गुप्ताका रहस्यमय गतिविधिको छानबिन गर्न माग गर्ने निर्णय समेत गरेको थियो । गुप्ताले आफूलाई ज्यान लिने धम्की दिएको र सुनको अवैध तस्करीमा संलग्न रहेको आरोप लगाउँदै संघ र महासंघका केही पदाधिकारीविरुद्ध प्रहरीमा किटानी जाहेरी समेत दिएका थिए । तर प्रहरीले उनले दिएको उजुरीअनुसार कारबाही भने अगाडि बढाएन ।

आफूले किटानी जाहेरी दिएका संघका पदाधिकारी र व्यवसायीलाई प्रहरीले पक्राउ नगरेपछि गुप्ता व्यावसायिक मर्यादाविपरीत निहित स्वार्थका लागि काम गर्ने केही अनलाइन सञ्चार माध्यमको सहारा लिएर पुनः भ्रमको खेतीमा लागेको आरोप लगाएको छ ।

संघले गुप्ताले उपलब्ध गराएका सूचनालाई अन्य स्रोतबाट पुष्टि गरेर मात्र समाचार बनाउन सञ्चारकर्मीलाई आग्रह गरेको छ ।

‘अहिले उहाँ नानाथरी आरोप लगाएर संघका पदाधिकारी र आफूइतरका व्यवसायीको चरित्र हत्या गर्ने एकसूत्रीय अभियानमा हुनुहुन्छ,’ संघका द्वितीय उपाध्यक्ष तुलाधरले भने, ‘त्यसैले हामी नरेन्द्रकुमार गुप्ता वा बेनामी स्रोतको हवाला दिएर यस संघका बहालवाला एवं पूर्वपदाधिकारी, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीको नाम जोडेर प्रकाशित÷प्रसारित हुने सामग्रीमा विश्वास नगर्न सरोकारवाला सबैलाई सल्लाह दिन्छौं ।’

गुप्ताले अझै पनि व्यवसायी र संघका पदाधिकारीविरुद्ध भ्रम फैलाउने काम जारी राखे त्यसविरुद्ध कानुनी उपचारमा जाने चेतावनी संघले दिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *