काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले १३ लाख १८ हजार रुपैयाँ नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८७.२५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो। खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण खुद नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी भने १३.२८ प्रतिशत बढेर ७ करोड ५९ लाख पुगेको छ । गत वर्षको सोही अवधिमा ६ करोड ७० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
कम्पनीको सञ्चालन मुनाफा ८२.२३ प्रतिशत घटेर १८ लाख ८३ हजार रुपैयाँमा खुम्चिएको छ। सो अवधिसम्ममा फाइनान्सको इम्पेरमेन्ट चार्ज १ करोड ६६ लाख रुपैयाँ रहेको छ।
नाफासँगै फाइनान्सको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा फाइनान्सको यस्तो आम्दानी १ रुपैयाँ ६५ पैसा घटेर २४ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात १६८२.४५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ८३ पैसा रहेको छ।
७२ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस फाइनान्सको जगेडा कोषमा २५ करोड ४० लाख रुपैयाँ सञ्चित छ। चैत मसामन्तसम्ममा फाइनान्सले २ अर्ब २४ करोड रुपैयाँ निक्षेपबाट १ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।







