काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीको खुद नाफा ५.५१ प्रतिशत घटेर ३७ करोड ९१ लाख रुपैयाँमा खुम्चिएको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा ४० करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीले विद्युत बिक्री मार्फत ६१ करोड २० लाख रुपैयाँ कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.०६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६२ करोड ४८ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ५६ पैसा घटेर ९ रुपैयाँ ५० पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ८० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५५.२० गुणा रहेको छ।
७ अर्ब ९८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग २ अर्ब ५३ करोड रुपैयाँ रहेको छ।






