सर्वोच्चको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस विनोद शर्माको सुनुवाई प्रक्रिया सुरु

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरिएको न्यायाधीश विनोद शर्माविरुद्ध १० दिने उजुरी आह्वान भएको छ ।

आज प्रतिनिधि सभा अन्तर्गत संसदीय सुनुवाइ विशेष समितिको बैठकले शर्माविरुद्ध १० दिनको म्याद राखेर उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

बैठकमा संसदीय सुनुवाई समितिका सभापति पशुपति शमशेर जबराले प्रस्तावित व्यक्तिको नियुक्तिको सम्बन्धमा उजुरी माग गर्ने सम्बन्धी सूचना प्रकाशन तथा प्रशारण गर्न समिति सचिवलाई निर्देशन दिएका छन् ।

उनले भने, प्रस्तावित व्यक्ति प्रस्तावित पदका लागि अनुपयुक्त लागेमा सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली मर्यादित भाषामा समिति समक्ष सूचना वा उजुरी दिन सरकारी सञ्चार माध्यमहरु मार्फत सूचना प्रकाशित गर्न प्रस्ताव गर्दछु । प्रस्तावित व्यक्तिको नियुक्तिको अनुपयुक्तता सम्बन्धमा उजुरी माग गर्ने सम्बन्धी सूचना प्रकाशन गर्न तथा प्रशारण गर्न समिति सचिवलाई निर्देशन दिन्छु ।

न्याय परिषद्बाट समिति समक्ष भदौ ११ गते पत्र प्राप्त भएको उक्त पदमा सिफारिस भएका पदाधिकारीको संसदीय सुनुवाई प्रक्रिया छलफल गर्न बैठक राखिएको हो ।
उच्च अदालत पाटनका न्यायाधीश (हाल सर्वोच्च अदालतमा काजमा रहेका) ओखलढुंगा घर भएका ६२ वर्षीय शर्मालाई यही भदौ १० गते बसेको न्याय परिषद्को बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

नेपालको संविधानको धारा १२९ बमोजिम सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरी संसदीय सुनुवाईका लागि लेखी पठाउने भनी न्याय परिषदको भदौ १० मा बसेको बैठकबाट निर्णय भएकाले नेपालको संविधानको धारा २९२ अनुसार संसदीय सुनुवाईका लागि समितिमा ल्याइएको हो ।

गत वर्ष भदौमा पनि उनको नाम सिफारिस भएको थियो । त्यतिबेला संसदीय सुनुवाइ हुन नसकेका कारण उनको न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको थिएन । तर यही भदौ १० गते बसेको न्यायपरिषद् बैठकले उनलाई पुनः न्यायाधीशमा सिफारिस गरेको थियो । ०००

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *