सुन तस्करी प्रकरणमा तीन कार्गो कम्पनी सञ्चालक पक्राउ

काठमाडौं। राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन तस्करीमा संलग्न रहेको भन्दै थप तीन जना कार्गो कम्पनी सञ्चालकलाई पक्राउ गरेको छ ।

जसको नाममा सुन आएको थियो त्यही कम्पनीको सामान यसअघि पनि ल्याउने र लैजाने कार्यमा सक्रिय रहेको देखिएपछि उनीहरूलाई पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुङ्गानाले बताए।

बिहिबार साँझ पक्राउ गरिएका तीनै कार्गो तथा कुरियर सेवा दिने कम्पनीका सञ्चालकहरूको नाम भने विभागले सार्वजनिक गरेको छैन । उनका अनुसार पक्राउ परेका तीनसहित अहिलेसम्म उक्त सुन प्रकरणमा १० जना पक्राउ परेका छन् ।

त्यसमध्ये छ जनालाई उच्च अदालत पाटनबाट १० दिनको म्याद लिएर अनुसन्धान थालिएको छ । बिहिबार दिउँसो पक्राउ परेका चिनियाँ नागरिकसहित चार जनालाई भने आज म्याद थप गरिने जनाइएको छ ।

बिहिबार दिउँसो पक्राउ परेकामा चिनियाँ नागरिक जेयुङ लिन रहेका छन् । चीन जान लागेका बेला उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।

बुधबारै पक्राउ परेकामा सुन ओसारपसारमा संलग्न गराइएको ट्याक्सीका चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल रहेका छन् ।

भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बुधबार राति हङ्कङबाट ल्याइएको झण्डै १०० किलो सुन बरामद गरेको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *