पोखरा । आफ्नो रकम हिनामिना पारेको भन्दै इमेज सहकारी संस्था र यसका संस्थापक अध्यक्ष देवकुमार नेपालीविरुद्ध बागलुङ र कास्कीका झन्डै साढे १६ सय जनाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।
ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका देवकुमारले बचतकर्ताको अर्बौं रुपैयाँ रकम हिनामिना पारेर भागेको आरोप छ। देवकुमारले उपमेयरलाई मेयरको जिम्मेवारी हस्तान्तरण गरेर फरार भएका हुन् । देवकुमारसहित सञ्चालक समितिका सदस्य फरार भएपछि जिल्ला प्रहरी कार्यालय बागलुङले जेठ २१ गते र कास्कीले जेठ ३२ गतेबाट बचत रकमसहित प्रमाण जुटाएर जोहरी दिन आह्वान गरेको थियो।
बागलुङका ३ ठाउँमा र पोखराको सिर्जनाचोकमा कार्यालय रहेको इमेज सहकारीका सञ्चालकले रकम हिनामिना परेको भन्दै बागलुङमा अहिलेसम्म झण्डै १३ सय जना र पोखरामा २ सय ७६ जनाले प्रहरीमा जाहेरी दिएका हुन्।
बुधबार बेलुकासम्म बागलुङका ३ शाखामा बचत रकम पाउनुपर्ने भन्दै १ हजार २६० जनाले जाहेरी दिएको र १ अर्ब १७ करोड १४ लाख रकम दाबी गरेको बागलुङको प्रहरीले जानकारी दिएको छ ।
कास्कीमा बिहीबार बेलुकासम्म २ सय ७६ जनाले जाहेरी दिएको र ४५ करोड ६० लाख ९६ हजार रुपैयाँ पाउनुपर्ने दाबी गरेको कास्की प्रहरी प्रवक्ता तथा डिएसपी श्रवणकुमार विकले जानकारी दिए। प्रहरीले पोखराको सञ्चालक समितिबारे पनि अनुसन्धान गरिरहेको जनाएको छ। ढोरपाटनका मेयर नेपाली गत जेठ ५ गतेदेखि फरार छन्।
इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित फरार कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई गत वैशाख ७ गते गृहमन्त्रालयले यात्रा अनुमतिमासमेत रोक लगाइसकेको छ।
फरार भनिएकामध्ये बागलुङ प्रहरी कार्यालयले सञ्चालक चित्रबहादुर भण्डारी र लेखा प्रवन्धक लालमति रोकालाई पक्राउ गरेको छ। ६ दिनअघि २ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको र बाँकीको खोजि भइरहेको बागलुङको प्रहरीले जनाएको छ ।







