अधुरै रह्यो दोस्रो पटक विश्वकप खेल्ने नेपालको सपना

आइसीसी विश्वकपको ग्लोबल छनोटअन्तर्गत सेमिफाइलनमा संयुक्त अरब इमिरेट्स (युएई) सँग ६८ रनले पराजित भएसँगै दोस्रो पटक टी–२० विश्वकप पुग्ने नेपालको लक्ष्य अधुरै रहेको छ ।

मंगलबार मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा एक सय ७६ रनको लक्ष्य पछ्याएको नेपाल १८। ओभर ४ बलमा १०७ रनमै सीमित बन्यो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन बनाए । उनले ३८ बलमा तीन चौका प्रहार गरे । यस्तै, ज्ञानेन्द्र मल्लले २० र आरिफ शेखले ११ बाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालले दोस्रो इनिङको चौथो बलमै ओपनर आसिफ शेखलाई पहिलो विकेटको रूपमा गुमाएको थियो । त्यसको अर्को बलमा नेपालले दोस्रो विकेटको रूपमा लोके बललाई गुमायो । लोके ‘गोल्डेन डक आउट’ भए । स्कोरबोर्डमा १४ रन हुँदा नेपालले तेस्रो विकेटको रूपमा कुशल भुर्तेललाई गुमायो ।

नेपाललाई सस्तोमै समेट्न युएईका अहमेद राजाले सर्वाधिक पाँच विकेट लिए । चार ओभर बलिङ गरेका राजाले मात्र १९ रन खर्चिए ।

यसबाहेक, जुनैद सिद्धिकले तीन विकेट लिँदा जहुर खान र रोहन मुस्तफाले समान एक विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङमा आएको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७५ रनको योगफल खडा गरेको थियो ।

युएईका ओपनर मुहम्मद वसिमले सर्वाधिक ७० रन बनाए । उनले ४८ बलमा समान चार चौका र छक्का प्रहार गरे । यस्तै, भ्रित्या अरविन्दले ४६, मुहम्मद वसिमले १७ र जवर फरिदले ११ रन जोडे ।

नेपालका अविनास बोहरा र जितेन्द्र मुखियाले समान तीन विकेट लिए । चार ओभर बलिङ गरेका अविनासले ४६ रन खर्चिदा मुखियाले तीन ओभरमा ३५ रन खर्चिए । यसबाहेक, कप्तान सन्दीप लामिछानेले एक विकेट हात पारे ।

पराजयसँगै अक्टोबरमा अस्ट्रेलियामा हुने विश्वकप सम्भावना समाप्त भएको छ  । नेपालले हालसम्म एक पटक मात्र ट्वान्टी २० विश्वकप खेलेको छ । सन् २०१४ मा भएको ट्वान्टी २० विश्वकपमा नेपाल छनोट भएको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *