राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले बजेटसँगै यसलाई सही ढंगबाट कार्यान्वयन गर्नका लागि फास्ट ट्रयाकबाट कानुन पनि ल्याउनुपर्ने बताएकी छन् । विनियोज विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सभागी हुँदै उनले भनिन्, ‘वृहत् शब्दावली र तीनका शाब्दिक अर्थ र भाव हेर्दा त्यहाँ उल्लेख भएका सिद्धान्त र प्राथमिकता अनुसार ल्याउनुपर्ने कानुन तदारुकताका साथ फास्ट ट्रयाकबाट ल्याइयो भने बजेटप्रति विश्वास रहन्छ । नत्र विगतमा जस्तो सिद्धान्त, प्राथमिकता, नीति र कार्यक्रममा महत्वाकांक्षी कुरा आउने र कानुन चाहिँ अंकुशे कानुनुहरु विद्यमान रहने अवस्था छ, जसले हाम्रो आगामी बजेट एकादेशको कथा नहोस् ।’
नेपालले युवा पुस्ता पलायन हुनुपर्ने अवस्था बन्दा यसबाट जनसांखिक लाभ लिन नसकेको पनि सांसद गौतमले बनाइन् । ‘उमेर समूहको आधारमा हेर्ने हो भने मैले प्रतिनिधित्व गर्ने पुस्ता नेपालको सबैभन्दा ठूलो जनसंख्या ओगटेको पुस्ता हो’, उनले भनिन्, ‘तर उच्च शिक्षा, आर्थिक आत्मनिर्भता, सहज जीवनशैली र भविष्यको सुनिश्चितता खोज्दै अधिकांश युवा पलायन भइरहेका छन् । विनियोजित विधेयकमा युवा पुस्ताले देशमै रहन मन लाग्ने गरी कुनै पनि सिद्धान्त र प्राथमिकता नरहेको मैले पाएँ ।’
युवा पलायन रोक्न विश्वविद्यालयहरुमा आमुल परिवर्तनको खाँचो पनि सांसद गौतमले औंल्याइन् । ‘विश्वका तकडा भनिएको विश्वविद्यालयमा क्षमतावान नेपाली प्राध्यापकहरु छन् । नेपालमै पनि नभएका होइनन्, तर पनि विश्वविद्यालयहरु राम्रो हुन सकेका छैनन् । ती विदेशमा रहेका उत्कृष्ट प्राध्यापकहरु फर्किएर नेपालमै पढाउन सक्ने वातावारण बनाउनुपर्छ’, उनले भनिन्, ‘यसमा अर्थमन्त्रीले कस्तो नीति लिएर आउनुहुन्छ त्यो हेर्न म र मेरो पुस्ता उत्सुक छ ।’






