काठमाडौं । बालाजुमा विगत पाँच वर्षदेखि मापदण्ड विपरीत घरको सटरबाट सञ्चालित कोतःधुकु पेट्रोल पम्प महानगरले सिल गरेको छ । बालाजु–ठमेल सडकको दायाँतर्फ रहेको उक्त आयल स्टोरका कारण असुरक्षा बढेको उजुरीपछि गत १० फागुनमा काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रका सबै पम्पको अवस्थाबारे निगमलाई सोधेको थियो ।
पत्रको जवाफमा आयल निगमले मापदण्ड बाहिरको पेट्रोल पम्प हटाउन महानगरलाई साथ दिने धारणा व्यक्त गरेको थियो । जस अनुसार बिहीबार महानगरपालिकाले कोतःधुक सिल गरेको काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।
यसअघि काठमाडौं महानगरपालिकाले आयल निगमले मापदण्ड विपरीत रहेका पेट्रोल पम्पहरु हटाउन सहजीकरण नगरेको भन्दै गुनासो गर्दे आएको थियो ।
२०७५ सालमा फ्यूल पम्प सम्बन्धी विनियमावली संशोधन भएपछि ०७६ मा सरकारले मुख्य सडक किनार, घना वस्ती र संवेदनशील क्षेत्रका १८ वटा पम्प हटाउने निर्णय गरेपनि पम्पहरु राजनीतिक पहुँच बलमा संचालित छन् । कोतःधुकु पम्प पनि त्यसमध्ये एक थियो ।






