साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई कडाइ गर्दा लघुवित्त समूहको सेयर मूल्यमा पहिरो गएको छ । आज अधिकाशं लघुवित्तको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
एकातिर सरकार अस्थिर हुने जोखिम र अर्कातिर लघुवित्त वित्तीय संस्थाहरुमा गरिएको कडाइका कारण लगानीकर्तामा त्रास उत्पन्न भएको छ ।
आज कारोबारको सुरुवातदेखि घटेको बजार कारोबार बन्द हुनेबेलासम्म २.७८ प्रतिशतले घटेको छ । आज नेप्से परिसूचक ७५.७४ अब्काले घटेर २०२२.६४ बिन्दुमा झरेको छ ।
ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ११.९५ अंकले घटेर ३८४.४० बिन्दुमा ओर्लिएको छ ।
ब्याड नूजले लघुवित्तक लगानीकर्ता सबैभन्दा अतालिएका छन् । लघुवित्त समूह आज ९.९५ प्रतिशत अर्थात् ४१२.०२ अंकले ओरालो लागेको छ । स्वाभिमान लघुवित्त बाहेक सबै लघुवित्तको सेयर मूल्य घट्दा अधिकांशमा नकारात्मक सर्किट लागेको छ । आज कुनै पनि सूचक उकालो लागेको छैन । आज झन्डै ४० कम्पनीमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार अवधिभर २६० कम्पनीको ६३ लाख २६ हजार १०५ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५२ करोड २७ लाख १३ हजार रुपैयाँभन्दा माथिको कारोबार भएको छ । धेरै लगानीकर्ताको मनोबल खस्किँदा प्यानिक सेल भएको छ ।
कसरी भयो प्यानिक सेल ?
अहिले बजारमा सरकार ढल्ने होकी भन्ने हल्ला चलेको छ । राष्ट्रपति भागबण्डामा कुरा नमिल्दा गठबन्धन फुट्ने संकेत देखिएको छ । यही अस्थिरताले केही दिनयता सेयर बजारको साख खस्किदै गइरहेको थियो । सेयर बजार अस्थिर बन्दै गइरहेको थियो । पर्ख र हेर को अवस्थामा रहेका लगानीकर्तालाई मौद्रिक नीतिले पनि सेयर बजार छुन नसक्दा मनोबल बढ्न सकेन।
सामान्य हल्लाले पनि प्रभावित हुने सेयर बजारमा झनै आगो माथि घ्यू थपिए झैँ नकारात्मक समाचार मात्र आउन थाल्यो । जसका कारण लगानीकर्ता झनै आत्तिए ।
लघुवित्त क्षेत्रमा देखिएका समस्या एकपछि अर्को आउन लागे लघुवित्त क्षेत्रमा देखिएमा समस्याहरु छताछुल्ल हुँदा राष्ट्र बैंकले केही कडा नीति लियो । लाभांशदेखि कर्जासम्ममा राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई कडाइ गर्यो । सो पश्चात लघुवित्तका लगानीकर्ताहरु आत्तिएर बेच्न लाग्दा बजारमा उच्च गिरावट आएको छ । ३७ कम्पनीको सेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ ।






