उद्योग/ व्यवसायीहरुले ब्याज, सावाँको किस्ता भुक्तान गर्नै नसक्ने अवस्थामा पुगेको व्यवसायीहरुले बताएका छन् । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपसँगै कर्जामा ब्याजदर वृद्धि गर्दा समग्र अर्थतन्त्र धराशायी हुने अवस्थामा पुगेको व्यवसायीहरुको आरोप छ ।
नेपालका निजी क्षेत्रले निरन्तर कर्जा व्याजदर तत्काल घटाउन माग गरे पनि त्यसको सुनुवाइ नभएको भन्दै व्यवसायीहरु आपत्ति जनाएका छन् ।
बैंक तथा वित्तीय संस्था, नेपाल राष्ट्र वैक तथा अर्थमन्त्रालयको नीतिमा सुधार दिनका लागि सुदुरपश्चिम प्रदेशका सम्पूर्ण निजि क्षेत्रका व्यवसायीहरुले भोली (फागुन ९ गते) बिहान ९ बजे धनगढी चौराहादेखि पार्क मोडसम्म विरोध र्याली गर्ने भएको छ । उनीहरुले विभिन्न माग राख्दै विरोध र्याली गर्न लागेका हुन् ।
बैंकहरुको खर्च न्यून गरि स्पेड दर ३ प्रतिशत भित्र रही जोखिमका आधारमा बढीमा २ प्रतिशत मात्र थप प्रिमियम लिन पाइने व्यवस्थाको माग गरेका छन् ।
बैंकहरुले सेवा शुल्क,कर्जा स्वीकृत शुल्क,एल.सी-म्नेगोसिएसन शुल्कमा दोब्वर वृद्धिलाई अन्त : गरि गत वर्षको भन्दा बढि लिन नपाइने, हाल भएका कर्जाहरुलाई यस आर्थिक वर्ष सम्म पुनःतालिकरण गरि ,व्याज म्याद ३५ दिनसम्मलाई निर्यामत मान्ने र लिलाम गर्ने प्रक्रियालाई हाल स्थगित गर्न, हालको बाह्य र आन्तरिक कारणको समय उपयुक्त नभएकाले चालु पुँजी कर्जा निर्देशिका स्थगित गर्न लगायत माग गरेका छन् ।
कर्जामा भएको ब्याजदर अविलम्ब एकल अंक हुने गरी घटाउन, व्यवसायीहरुलाई मानसिक तनाव दिने प्रवृत्तिको अन्त्य गर्न, किस्ता र ब्याज तिर्नै समयसीमा बढाउन व्यवसायीहरुले माग गरेका छन् ।
विभिन्न शीर्षकमा लिइने सेवा शुल्कलाई पारदर्शी र मनासिव बनाउन,कर्जाको ब्याजदर पुनसंरचना गर्न, बैंक तथा वित्तीय संस्थाले अगाडि बढाएका धितो लिलामीका प्रक्रियाहरु तत्कान रोक्न पनि उनीहरुले माग गरेका छन् ।
कोभिडका कारण थला परेको अर्थतन्त्र उकास्न विशेष कार्यक्रमको व्यवस्था गर्न एवं पर्यटनलाई प्राथमिकता प्राप्त क्षेत्र घोषणा गरी सो क्षेत्रमा कर्जा प्रवाह गर्न समेत उनीहरुले जोडदार माग गरेका छन्।







