काठमाडौं । सत्ता गठबन्धनमा भावी सरकार गठनको रस्साकस्सी चलिरहेका बेला नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । त्यसबेला प्रचण्डले पौडेललाई अब आफ्ना लागि राष्ट्रपति र प्रचण्ड प्रधानमन्त्री भनेर हिड्न सुझाव दिएका छन् । आफू प्रधानमन्त्री र पौडेल राष्ट्रपति बन्दा शान्ति प्रक्रियाको स्पिरिट पनि मिल्ने र न्याय पनि हुने प्रचण्डको भनाइ रहेको छ । देउवाले डेढ वर्ष सरकार चलाइसकेकाले अब पहिलो चरणको प्रधानमन्त्रीमा आफ्नो हक लाग्ने प्रचण्डले बताएका हुन् ।
पौडेलकै कारण अहिलेको गठबन्धन बनेको भन्दै प्रचण्डले यसमा देउवालाई पनि कन्भिन्स गर्न आग्रह गरेका छन् । पौडेलले भने गठबन्धनको औचित्य नसकिएकाले को पहिले प्रधानमन्त्री बन्ने भनेर देउवा र प्रचण्डबीचमै समझदारी हुनुपर्नेमा जोड दिएका छन् ।
प्रचण्डलाई भेटे लगत्तै पौडेलले शनिवार नै नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् । पौडेलले आफू राष्ट्रपति बन्ने कुरामा दाहाल र नेपाल दुवैको सहमति लिन चाहेका छन् ।






