रमेश कर्प र कजारिया सेरामिक्सकाे चार खर्ब लगानीमा टाईल्स उत्पादन कम्पनी स्थापना गर्दै

भारतको नम्बर १ र विश्वको सातौँ ठूलो टाइल्स  कम्पनी कजारिया सेरामिक्स लिमिटेड र नेपालको प्रसिद्ध व्यापारिक समूह रमेश कर्पबीच नेपालमा ठूलो टाइल्स उत्पादन कम्पनी स्थापना गर्ने सम्बन्धमा सम्झौता भएको छ।

सम्झौताअनुसार कम्पनीले नेपालमा हालकै सवैभन्दा ठूलो टाइल्स उत्पादन कम्पनी स्थापना गर्नेछ। जसको वार्षिक उत्पादन क्षमता ८ लाख वर्गमिटर हुनेछ। औपचारिक सम्झौतामा हस्ताक्षर कार्य दुवै समूहको विशिष्ट प्रतिनिधिहरुको उपस्थितिमा काठमाण्डौमा सम्पन्न भएको हो।

रमेश कर्पका कार्यकारी निर्देशक प्रतीक जलान र कजारिया सेरामिक्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अशोक कजारियाले गरेका छन्। सम्झौताअनुसार दुवै कम्पनीको लगानी ५०–५० प्रतिशत हुनेछ र नेपालमै अत्याधुनिक उत्पादन कम्पनी स्थापना गर्न सम्बन्धित कम्पनीका तर्फबाट सम्झौता भएको हो।

सिरामिक र भिट्रिफाइड टाइल्स उत्पादन गर्ने नवनिर्मित कारखानाकोे उत्पादन क्षमता ८ लाख वर्गमिटर हुनेछ र सन् २०२३ को अन्त्यसम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

कारखाना भविष्यमा आफू निर्यातका लागि तयार हुने र नेपाली बजारको मागलाई पूरा गर्ने परिकल्पनाका साथ स्थापना हुँदैछ। यसबाहेक नेपालमा उपलब्ध प्रमुख कच्चा पदार्थहरु टाइल्स उत्पादनमा प्रयोग गरिनेछ।

नयाँ योजनाका बारेमा कजारिया सेरामिक्सका संयुक्त प्रबन्ध निर्देशक अशोक कजारियाले भने, ‘नेपाल हाम्रा लागि सधैँ महत्वपूर्ण बजार भएको छ। हामी यहाँ दुई दशकभन्दा बढी समयदेखि उपस्थित छौँ र यो कदमले नेपालको बजारमा हाम्रो उपस्थितिलाई अझ बलियो बनाउनेछ। यो परियोजना तत्काल सुरु गरी आउँदो २०२३ को अन्त्यसम्ममा सञ्चालनमा आउनेछ। हामी हाम्रा विश्वस्तरीय उत्पादनहरु नेपालमै प्रतिस्पर्धात्मक रुपमा उपलब्ध गराउन चाहन्छौँ। हामी विश्वस्त छौँ कि यो सुविधासम्पन्न प्लान्ट एक प्रतिष्ठित नमुना उद्योग बन्नेछ जसमा अत्याधुनिक प्रविधिको प्रयोग, गुणस्तर, दक्षता र वातावरणीय मापदण्डहरु प्राथमिकताका साथ प्रयोजन गरिनेछ।’

रमेश कर्पका कार्यकारी निर्देशक प्रतीक जलानले भने, ‘यो एक ऐतिहासिक परियोजना भएकाले यसले देशमा रोजगारी सिर्जना गर्न महत्वपूर्ण टेवा पुर्याउनेछ। यो उद्योगबाट उत्पादित विश्वस्तरीय टाइल्स  र अन्य उत्पादनहरु देशमै प्रतिस्पर्धात्मक मूल्यमा उपलब्ध हुनेछ।’

रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ताले भने, ‘नेपाललाई औद्योगिकीकरण गर्ने नेपाल सरकारको लक्ष्यलाई साकार बनाउन रमेश कर्प प्रतिबद्ध रहनेछ। आयोजना सुरुआतसँगै देशको अर्थतन्त्र बढ्नुका साथै मुलुकमा ठूलो लगानीको वातावरण सिर्जना गर्नेछ र निकट भविष्यमा नेपालमा यस्तै अन्य ठूला लगानीहरु भित्रिनेछ भन्ने कुरामा विश्वस्त छौँ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *