मुक्तिनाथ कृषि कम्पनीको एजीएमबाट ५५.५५ प्रतिशत हकप्रद जारी गर्ने

मुक्तिनाथ विकास बैंक तथा नेपालका विभिन्न व्यावसायिक क्षेत्रमा संलग्न व्यक्तिहरुको लगानीमा स्थापना भई समग्र कृषि मूल्य शृंखलामा व्यवस्थापकीय भूमिका निर्वाह गर्ने उद्देश्यका साथ अगाडि बढिराखेको मुक्तिनाथ कृषि कम्पनीले आफ्नो चौथो वार्षिक साधारणसभा सम्पन्न गरेको छ।

गत असोज २८ गते बसेको साधारणसभाले सामान्य प्रस्तावअन्तर्गत अध्यक्षको आ.व. २०७८–७९ को वार्षिक प्रतिबेदन उपर छलफल तथा पारित, सोही आ.व.को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाहलगायतका विवरण उपर छलफल तथा पारित र आगामी आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गरेको छ।

सभाले विषेश प्रस्तावहरुमार्फत ५५.५५ प्रतिशत हकप्रद सेयर निष्कासन, कम्पानीको चुक्ता तथा जारी पुँजी क्रमशः ५६ करोड र ७० करोड पुर्याउने प्रस्ताव पारित गरेको छ। यसका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीउपर संशोधन प्रस्तावसमेत पारित गरेको छ।

कार्यक्रमको अध्यक्षता गरेका कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले कम्पनीको प्रगति विवरण तथा भावी कार्ययोजनाहरु प्रस्तुत गरेका थिए। यसका साथै कम्पनीले अब आगामी वर्षहरुमा आफ्ना सेयरधनीहरुलाई प्रतिफल दिनेगरी अगाडि बढिरहेको उनले बताए।

सञ्चालक समितिका सदस्य सीताराम काफ्लेले स्वागत मन्तव्य राख्दै कम्पनीले आफ्नो उद्देश्य प्राप्तिका लागि कम्पनी पूर्ण रुपमा गतिशील रहेको बताए।

कम्पनीका सचिव एवं नायब महाप्रबन्धक रामशरण तिमल्सिनाबाट सञ्चालित सभालाई अतिथिका रुपमा सम्बोधन गर्दै मुक्तिनाथ विकास बैंकका  कार्यकारी अधिकृत प्रद्युम्न पोख्रेलले नेपालको कृषि व्यवसायमा  मुक्तिनाथ कृषि कम्पनीले उदाहरणीय कार्यहरु गर्दै आइरहेको बताए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *