गभर्नर अधिकारीमाथि संसदमा सांसदको प्रश्नैप्रश्न, छानबिन र कारबाहीको माग

प्रतिनिधि सभामा सांसदहरुले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि प्रश्नैप्रश्न उठाएका छन् । नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले नेपाल श्रीलंकाको बाटोमा जाँदैछ भनेर सार्वजनिक रुपमा राष्ट्र बैंकका गभर्नर अधिकारीले आतंक फैलाएको भन्दै कांग्रेसले प्रश्न उठाए ।

बुधबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै सांसद विश्वकर्माले गर्भनर आफैंले मुलुक श्रीलंकातिर जाँदैछ, श्रीलंकातिर जाँदैछ भनेर हिँडेको बताए । ‘एउटा देशको अर्थतन्त्र कमजोर हुँदा मित्र राष्ट्रले श्रीलंका हुन्छ, श्रीलंका हुन्छ भन्दा त्यो देशमा मानसम्मान हुन्छ वा हुन्न ?’, उनले प्रश्न गरेका छन्, ‘हाम्रो मित्रता कायम हुन्छ वा हुन्न ?’

एउटा देश संकटमा परेको बेला गिज्याउनु उपयुक्त नहुने भन्दै उनले यस्तो बोल्न बन्द गर्नुपर्ने बताएका छन् । गभर्नरले सल्लाहकार भएर सरकारलाई सहयोग गर्नुपर्नेमा सार्वजनिक मञ्चहरुबाट श्रीलंका हुन्छ, अब टाट पल्टिन्छ भनेर आतंक फैलाएको उनको आरोप छ ।

‘रियल स्टेट कारोबारीहरुलाई निषेध गर्ने, निजी क्षेत्रलाई हतोत्साही गर्ने, सेयर मार्केटमा लगानीहरुलाई हतोत्साहित गर्ने काम भइरहेको छ, यो बन्द गरिनुपर्छ । अन्यथा जनताहरुले आवाज उठाउनुपर्ने हुन्छ र सम्बन्धित व्यक्तिलाई कारबाही गर्नुपर्छ’, कांग्रेस सांसद विश्वकर्माले भने, ‘गर्भनर जस्तो जिम्मेवार व्यक्तिलाई यस्तो नबोल्न र नागरिकहलाई आतंकित नगराउन रुलिङ हुनुपर्दछ ।’

यस्तै कांग्रेसका अर्का सांसद गगन थापाले राष्ट्र बैंकका गभर्नर अधिकारीप्रति कटाक्ष गरेका छन् । उनले मौद्रिक नीतिबारे नेकपा एमालेको अर्थ योजना विभागका सदस्य एम अधिकारीलाई नभए गभर्नरलाई आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदा अर्थतन्त्रलाई चलायमान हुने गरी ल्याउन सुझाव दिएको भन्दै व्याङग्य गरे ।

‘मैले गरेको यो सबै अनुरोध राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हो,’ उनले भने, ‘नेकपा एमालेको अर्थ योजना विभागका मिस्टर एम अधिकारीले मलाई भनेको हो कि भनेर बुझ्नु भएमा क्षमा चाहन्छु ।’ ‘तरलताको अभाव, चुलिँदो व्यापार घाटा, घट्दो विदेशी मुद्रा सञ्चिति, आकासिँदो मूल्यवृछि र मागमा संकुचन जस्ता चुनौतीलाई सामना गर्ने गरी मौद्रिक नीति ल्यानुपर्ने उनले बताएका छन् ।

यसैगरी नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले पनि गभर्नर अधिकारीबारे छानविन गर्न माग गरेकी छन् । प्रतिनिधि सभाको बुधबारकै बैठकमा उनले एमालेको अन्तरपार्टी निर्देशनमा एम अधिकारी अर्थ तथा योजना विभागको सदस्य रहेको भन्दै उक्त व्यक्ति गभर्नर महाप्रसाद अधिकारी नै भनेर प्रश्न उठेकाले उनीबारे छानबिन गरी पुष्टि भए कारबाही गर्न माग गरेकी हुन् ।

‘देशको अर्थतन्त्र बिग्रँदो अवस्थामा छ भन्ने चर्चा भइरहेको छ । राष्ट्र बैंक जस्तो गरिमामय संस्था सम्हाल्ने प्रमुख व्यक्ति गर्भनर महाप्रसाद अधिकारी कुनै पनि राजनीतिक दलमा आवद्ध हुन नपाउने राष्ट्र बैंक ऐन र कर्मचारी नियमावली विपरित नेकपा एमालेको अन्तरपार्टी निर्देशनमा योजना तथा अर्थ विभागका सदस्य जुन एम अधिकारी ९खोटाङ० भनेर नाम आएको छ’, शर्माले भनिन्, ‘ती एम अधिकारी राष्ट्र बैंकका गभर्नर हुन् भन्ने विषयले पनि ठूलै चर्चा पाएको छ ।’

सांसद शर्माले एकातिर अर्थतन्त्र बिग्रँदो छ भनेर आरोप प्रत्यारोप र चर्चा भइरहेको छ भने अर्कोतिर राष्ट्र बैंकको प्रमुख नै कुनै दलमा आवद्ध भएपछि दलीय अनुशासन मान्छ कि सरकारको नियम मान्छ भन्दै प्रश्न गरिन् । त्यस्तै शुन्य समयमा अन्जना विशंखे र अमृता थापाले पनि गर्भनर अधिकारीमाथि छानविन गर्न माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *