दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहित

सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा छ ।

कोरोना सङ्क्रमणका कारण थलिएको पर्यटन क्षेत्र पुनः पूर्ववत् अवस्थामा फर्किने आशा व्यवसायीले गरेका छन् । विगतका दिनमा सँगै दुई दिन बिदा हुँदा एकरात बस्न आउने पर्यटकको सङ्ख्या बढी हुने गरेको भन्दै उनीहरुले आइतबार पनि बिदा दिनुपर्ने माग गर्दै आएका थिए ।

पर्यटन क्षेत्रमा काम गर्दै आएका पर्यटन व्यवसायी विप्लव पौडेल दुई दिन बिदाको माग आफूहरुको भएको बताए । पोखरा र चितवनको मेघौलीमा रहेको होटल बाराहीका सञ्चालक पौडेलले यो बिदाबाट होमस्टे (घरबास) देखि ठूला होटलसम्म पर्यटक बढ्ने बताए । उनले भने, यसले आर्थिक क्षेत्र चलायमान बनाउँछ ।

दुई दिन घुमफिर र रमाइलो गरेपछि पाँच दिन गर्ने काम जोश, जाँगर भरिएर थप राम्रो हुने पौडेलको भनाइ छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दीपक भट्टराई यसअघिको अवस्थामा नियमित दुई दिन बिदा हुँदा अन्य दिनको तुलनामा ५० प्रतिशत पर्यटक बढ्ने गरेको बताउँछन । आन्तरिक पर्यटकलाई घुमफिरका लागि मिल्दो समयको अभाव हुँदै आएकामा यो बिदाले लाभ मिलेको उनको भनाइ छ । उनले भने, अन्य दिनको तुलनामा बिदाको दिनमा पर्यटक बढ्ने गर्छ, सँगै दुई दिन बिदा हुँदा पक्कै पर्यटक बढ्छ ।

कोभिडका कारण थलिएको पर्यटन क्षेत्र दुई दिन बिदासँगै पहिलेको भन्दा राम्रो हुने आफ्नो अनुमान रहेको भट्टराईले बताए । बिदा हुन थालेसँगै लक्षण सकारात्मक देखिएको उनले जानकारी दिए । पारिवारिक घुमफिर यो बिदाले बढाउने अपेक्षा व्यवसायीको छ । क्षेत्रीय होटल सङ्घका महासचिव गुणराज थपलिया टेलिफोनबाट बुझ्ने र बुकिङ गर्ने क्रम बढ्न थालेको बताउँछन । देशको मध्यभागमा रहेकाले सौराहामा एक रात बिताउन छिमेकी धेरै जिल्लाबाट आउन सहज छ । एक रातको बसाइमा यहाँका महत्वपूर्ण गतिविधिमा सहभागी हुनसक्ने भएकाले केही हप्तापछि नै राम्रो नतिजा आउने थपलियाले बताए ।

विदेशी पर्यटकको सङ्ख्या घटेसँगै यहाँको पर्यटन क्षेत्र आन्तरिकले धानेको छ । मुख्यरूपमा नेपालमा पोखरा, लुम्बिनी, चितवन, काठमाडौँलगायतका क्षेत्रमा पर्यटक धेरै पुग्ने गर्दछन् । आइतबार हुने बिदामा यी क्षेत्रमा पर्यटकको चाप बढ्ने व्यवसायीको अनुमान छ ।

होटल नारायणी रिसोर्ट गैंडाकोट निर्देशक वसन्त पराजुली दुईदिने बिदाले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताउँछन । उनले भने बिदामा परिवारसहित घुम्ने प्रचलन बढ्छ । विगतको सार्वजनिक र लामो बिदामा आन्तरिक पर्यटकले होटल भरिने गरेको उनको अनुभव छ ।

पर्यटनविद् डा विश्व सुवेदी दुईदिने बिदाले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताउँछन । उनले भने, घुम्न हिँड्नका लागि समय मिल्छ । एक दिन घरको काम र अर्को दिन घुम्ने हिँड्न पुग्छ । यसले नजिकका पर्यटन क्षेत्रमा घुम्न जान सहज हुने उनको भनाइ छ । कोरोनाका कारण घरमै बसेकाहरू घुम्न चाहिरहेको बेला बिदा पाउँदा यसले पर्यटन क्षेत्र थप चलायमान बनाउने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *