काठमाडौं । देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा बदली रहँदा कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल कोशी प्रदेशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ भने देशका अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायु सक्रिय छन्। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका पहाडी र तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्न सक्ने तथा बागमती र गण्डकीका तराई क्षेत्रमा तापक्रम बढ्न सक्ने जनाएको छ।
रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदली रहने र मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने जनाइएको छ।
महाशाखाले भारी वर्षा, चट्याङ र तातो लहरको सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन तथा मौसमसम्बन्धी अद्यावधिक सूचनामा ध्यान दिन आग्रह गरेको छ।






