विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं। रोजगारीका लागि विदेश पठाउने नाममा रु २९ लाख २० हजार ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि फ्रान्स, जर्जिया, माल्टालगायत देश पठाउने बहानामा लामो समयसम्म झुक्याएर राखी विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा प्रहरीले सिन्धुपाल्चोकको साँगाचोकगढी गाउँपालिका–२ की २६ वर्षीया निमा तामाङ तथा महोत्तरीको बर्दिबास नगरपालिका–६ का २४ वर्षीय विवेक साहलाई पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक शरतकुमार थापाक्षेत्रीले जानकारी दिए।

पक्राउ परेकामध्ये तामाङले फ्रान्स पठाउने भन्दै २२ लाख ८५ हजार र साहले जर्जिया र माल्टा पठाउने भन्दै ६ लाख ३५ हजार लिएर सम्पर्कविहीन भएका थिए।

दुवै जनालाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, पठाइएको प्रवक्ता थापा क्षेत्रीले बताए।
Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *