छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण

काठमाडौं । काठमाडौं महानगरपालिकाले हिजो (जेठ १७) गते लिएको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

छात्रवृत्ति परीक्षा समितिको आजको निर्णय अनुसार न्युनतम ४० अङ्क हासिल गर्ने उम्मेदवारहरूको प्रारम्भिक योग्यता क्रम सहितको नतिजा प्रकाशन गरिएको हो ।

यो छात्रवृत्ति महानगरपालिका अन्तर्गत सञ्चालनमा रहेका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८३÷०८४ मा कक्षा ११ र १२ मा अध्ययनका लागि हो ।

नतिजा हेर्न अनलाइन फाराम भरेको पोर्टलमा आफ्नो रोल नम्बर, जन्म मिति र पासवर्ड (मोबाइल/इमेलमा प्राप्त) राखी स्कोर कार्ड हेर्न, डाउनलोड गर्न र प्रिन्ट गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

शिक्षा अधिकारी एवं परीक्षा समितिका संयोजक नमराज ढकालका अनुसार यो प्रारम्भिक नतिजा हो । यो नतिजामा चित्त नबुझे जेठ २० गते कार्यालय समयभित्र पुनर्योगका लागि निवेदन दिन सकिने अवधि दिइएको छ । यसपछि अन्तिम योग्यता क्रमको सूची प्रकाशन हुनेछ । अन्तिम योग्यता क्रमको सूची पछि मात्र शिक्षण संस्था म्याचिङ तथा विद्यार्थी मनोनयन सिफारिस प्रक्रिया सुरु हुन्छ ।

ढकालका अनुसार परीक्षामा उच्चतम अङ्क प्राप्त गर्ने एक जना विद्यार्थीले ९२ अङ्क प्राप्त गरेका छन् । यस्तै दोस्रो उच्चतम प्राप्त गर्ने एक जना विद्यार्थीले ९१ अङ्क पाएका छन् । तेस्रोमा ५ जना विद्यार्थीको ९० अङ्क छ ।

प्रकाशित नतिजामा चित्त नबुझेमा १ हजार रुपियाँ राजस्व दाखिला गरेर प्रवेश पत्रको प्रतिलिपिसहित जेठ २० गतेभित्र शिक्षा विभागमा निवेदन दिन सकिनेछ ।

यस्तै, फाराममा नाम, लिङ्ग लगायतका विवरण फरक परेको वा योग्यता नपुग्ने आरक्षण क्षेत्रमा आवेदन दिई फाराम स्वीकृत भएकोले उक्त क्षेत्र हटाउनु परेमा (क्षेत्र थप गर्न भने नमिल्ने) प्रमाण पुग्ने कागजात संलग्न गरी जेठ २० गतेभित्र निवेदन दिन सकिने उल्लेख छ ।

छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी छनोटका लागि ०८३ वैशाख ३ गते सूचना प्रकाशन गरिएको थियो ।
छात्रवृत्तिका लागि ८३ वटा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । परीक्षाका लागि अनलाइन प्रणालीबाट आवेदन दिने १६ हजार ५४९ जना छात्र र १० हजार ३३३ जना छात्रा र ६ जना अन्य गरी २६ हजार ८८८ जना विद्यार्थीमध्ये २६ हजार ६०३ जना विद्यार्थीको आवेदन स्वीकृत भएको थियो । स्वीकृत आवेदकमध्ये २२ हजार २० जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *