काठमाडौं। पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा नेपाल नजिक सक्रिय न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा र बदलीको अवस्था कायम रहने भएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश हिमाली तथा पहाडी भूभागमा बदली रहेको छ।
लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने गण्डकी र कर्णाली प्रदेशका केही क्षेत्रमा हल्का वर्षा भइरहेको छ।
महाशाखाले आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ।
तराईका अधिकांश क्षेत्रमा भने आंशिक बदली रहने अनुमान गरिएको छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।
मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकीका तराई क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा बदली रहने तथा पहाडी भूभाग र लुम्बिनीको तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। अन्य तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा रहनेछ।
महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ।
लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।






