काठमाडौँ। नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालसम्बन्धी उजुरीका क्रममा प्रहरीले अश्लील व्यवहार गरेको भनी अमिशा पराजुलीले लगाएको आरोप अस्वीकार गरेको छ।
ब्यूरोले मंगलबार एक विज्ञप्तिमा जारी गर्दै आमिशाको उक्त दाबी तथ्यहीन भएको बताएको हो।
ब्यूरोका अनुसार आरोप सार्वजनिक भएपछि पराजुलीकी आमालाई कार्यालयमा उपस्थित गराइएको थियो। सो क्रममा आमाले प्रहरी कर्मचारीले कुनै अशोभनीय वा अश्लील अभिव्यक्ति नदिएको स्पष्ट पारेको ब्यूरोको दाबी छ।
साथै, छोरीको अभिव्यक्तिबाट संगठनको छवि प्रभावित भएको भन्दै आमाले लिखित रूपमा माफी मागेको ब्यूरोले जनाएको छ।
यसअघि अमिशा पराजुलीले डिजिटल हिंसा सम्बन्धी कार्यक्रममा बोल्दै उजुरी प्रक्रियामा प्रहरीबाट असहयोग र अपमानजनक व्यवहार भएको आरोप लगाएकी थिइन्।
उनले प्रहरीको अभिव्यक्ति अश्लील संकेतसहितको भएको दाबी गर्दै प्रमाण र साक्षी प्रस्तुत गर्न सकिने उल्लेख गरेकी थिइन्।
भक्तपुरकी पराजुली केही समयअघि राजनीतिक समर्थनका कारण चर्चामा आएकी थिइन्। पछि सामाजिक सञ्जालमा ट्रोलिङ बढेपछि उनले साइबर ब्यूरोमा उजुरी दर्ता गराएकी थिइन्।







