काठमाडौं । इन्भेष्टमेण्ट मेगा बैंकले लामो समयदेखि कर्जा नतिर्ने ऋणीहरूको धितोमा रहेको चल तथा अचल सम्पत्ति लिलाम बिक्री गर्ने प्रक्रिया अघि बढाएको छ।
बैंकले आज सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित ऋणी र जमानीकर्ताहरूलाई बक्यौता चुक्ता गर्न ७ दिनको अन्तिम समयसीमा दिएको हो ।
किङ्गडम स्टार इङ्लिस स्कुलसहित ११ ऋणीको विवरण सार्वजनिक गर्दै बैंकले पटक–पटकको ताकेता पछि पनि कर्जा चुक्ता नभएकाले अन्तिम सूचना जारी गरिएको जनाएको छ।
तोकिएको ७ दिनको म्यादभित्र सम्पूर्ण साँवा,ब्याज, हर्जाना र अन्य शुल्क तिरेर कर्जा चुक्ता नगरेमा ऋणीलाई कालोसूचीमा राखिने तथा धितो सम्पत्ति गोप्य शिलबन्दी बोलपत्रमार्फत लिलाम गरिने बैंकले जनाएको छ।
लिलामीमा सहभागी हुन इच्छुकले २०८३ जेठ ११ गतेभित्र बोलपत्र पेश गर्नुपर्नेछ भने बोलपत्रहरू जेठ १२ गते दिउँसो ३ बजे खोलिनेछन्।
यदि धितो लिलामीबाट पनि बैंकको सम्पूर्ण बक्यौता रकम असुल हुन नसकेमा प्रचलित कानुन बमोजिम ऋणीको अन्य जायजेथा र जायजेथाबाट समेत बाँकी रकम असुल उपर गर्न आवश्यक कानुनी कारबाही अघि बढाइने बैंकले जनाएको छ ।







