काठमाडौं । खराब कर्जा असुली सुस्त बन्दा वाणिज्य बैंकहरूमा गैरबैंकिङ सम्पत्ति बढ्दै गएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को चैतसम्म १९ वाणिज्य बैंकमा कुल ४६ अर्ब १० करोड ७४ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सम्पत्ति ३६ अर्ब ४१ करोड १४ लाख रुपैयाँ थियो। तथ्यांकअनुसार समीक्षा अवधिमा गैरबैंकिङ सम्पत्ति २०.०४ प्रतिशतले बढेको छ।
अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा वाणिज्य बैंकहरुमध्ये ७ वटाको गैरबैंकिङ सम्पत्ति घटेको छ भने १२ वटाको बढेको छ। वाणिज्य बैंकहरुमध्ये प्राइम कमर्सिलय बैंक र एनएमबि बैंकको गैरबैंकिङ सम्पत्ति सबैभन्दा बढीले बढेको छ। ग्लोबल आइएमई, एनआईसी एसिया, नबिल, कुमारी, माछापुच्छ्रे, एभरेष्ट र राष्ट्रिय वाणिज्य बैंकले भने गैरबैंकिङ सम्पत्ति घटाएका छन्।
चालु आर्थिक वर्षको चैतसम्म सबैभन्दा बढी गैरबैंकिङ सम्पत्ति हिमालयन बैंकमा रहेको देखिएको छ। यो बैंकमा ६ अर्ब ८ करोड १२ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकमा ५ अर्ब १४ करोड ३५ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको थियो। अघिल्लो वर्षको तुलनामा यस्तो सम्पत्ति १८.२३ प्रतिशतले बढेको छ।
यसैगरी दोस्रो धेरै गैरबैंकिङ सम्पत्ति ग्लोबल आइएमई बैंक र तेस्रो प्राइम कमर्सियल बैंकमा रहेको छ। समीक्षा अवधिसम्म ग्लोबल आइएमईमा ५ अर्ब ९२ करोड १८ लाख रुपैयाँ र प्राइममा ४ अर्ब ९९ करोड ६० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ। अघिल्लो वर्ष तुलनामा यस्तो सम्पत्ति दुवै बैंकमा क्रमशः १.२७ प्रतिशत र १०९.३५ प्रतिशतले बढेको छ।
सबैभन्दा कम गैरबैंकिङ सम्पत्ति नेपाल बैंकमा रहेको देखिएको छ। समीक्षा अवधिसम्म यो बैंकमा २३ करोड ३६ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ। अघिल्लो वर्षको तुलनामा नेपाल बैंकमा गैरबैंकिङ सम्पत्ति १४.४७ प्रतिशतले बढेको छ।







