काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आगामी जेठ २७ गते चौथो वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । कम्पनीको जेठ ३ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभाको निर्णय गरेको हो । सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेट क्याटरिङ एन्ड इभेन्ट प्रालिमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरण तथा नाफा–नोक्सान हिसाबमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पेश गरिनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । कम्पनीले संस्थापक समूहबाट पाँच जना र सर्वसाधारण शेयरधनी समूहबाट एक जना सञ्चालक चयन गर्ने प्रस्ताव पनि सभामा लैजाने भएको छ ।
साधारणसभामा सञ्चालक समितिले गरेका निर्णय तथा कामकारबाही अनुमोदन गर्ने, संस्थागत सुशासनसम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने तथा प्रमुख कार्यकारी अधिकृत, स्वतन्त्र सञ्चालक र कम्पनी सचिवको नियुक्ति अनुमोदन गर्ने विषय पनि समावेश गरिएको छ ।
विशेष प्रस्तावअन्तर्गत कम्पनीको प्रबन्धपत्र तथा नियमावलीका केही दफा संशोधन गर्ने प्रस्ताव पेश गरिनेछ । साथै सञ्चालक समितिका अध्यक्ष, सदस्य, कम्पनी सचिव तथा आमन्त्रित विज्ञ सदस्यहरूको बैठक भत्ता र भ्रमण भत्ता वृद्धि गर्ने विषयमा पनि छलफल हुने जनाइएको छ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले जेठ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसअनुसार जेठ १४ गतेसम्म नेप्सेमा कारोबार भई आफ्नो नाममा शेयर कायम रहेका शेयरधनीहरूले मात्र सभामा सहभागी भई मतदान गर्न पाउनेछन् ।






