काठमाडौं । कुवेत एयरवेजले नेपालका लागि आफ्नो नियमित उडान सेवा पुनः सञ्चालन गर्ने भएको छ। इरानसँग इजरायल–अमेरिका तनावका कारण स्थगित रहेको उडान आगामी मंगलबारदेखि पुनः सुरु हुन लागेको हो।
एयरवेजका अनुसार अबदेखि हरेक मंगलबार र बिहीबार काठमाडौं–कुवेत उडान सञ्चालन हुनेछ। कम्पनीले यसपटक २३५ यात्रु क्षमताको ‘एयरबस ३३०–८००’ जहाज प्रयोग गर्ने जनाएको छ।
सुरुवाती चरणमा कुवेतमा रोकिएका तथा काठमाडौंबाट कुवेत जान नपाएका यात्रुहरूलाई लक्षित गरी सेवा सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ। उडान स्थगित हुँदा टिकट काटेर पनि यात्रा गर्न नपाएका यात्रुहरूलाई कम्पनीसँग सम्पर्क गरी टिकट परिवर्तन गर्न आग्रह गरिएको छ।
फेब्रुअरी २८ देखि कुवेत एयरवेजले आफ्ना उडानहरू बन्द गरेको थियो । त्यसभन्दा अघि यो एयरवेजले नेपालमा दैनिक रूपमा हप्ताको सातै दिन उडान भर्दै आएको थियो ।
उडान बन्द भएको अवधिमा पनि कम्पनीले भैरहवा र काठमाडौंबाट केही विशेष उडानहरू मार्फत कैदीबन्दीहरूलाई ल्याउने काम गरेको भए तापनि नियमित व्यावसायिक उडान भने पूर्ण रूपमा ठप्प रहेको थियो । अहिलेका लागि सबै उडानहरू काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र हुनेछन् ।






