मितेरी सहर लिञ्जीद्वारा पोखरालाई एम्बुलेन्स प्रदान

पोखरा ।पोखरा महानगरपालिकालाई चीनको जिजाङ प्रान्तस्थित मितेरी सहर लिञ्जीले उपहारस्वरूप प्रदान गरेको अत्याधुनिक एम्बुलेन्ससहित स्वास्थ्य सामग्री साढे तीन वर्षपछि पोखरा आइपुगेको छ ।

लिञ्जी सहरले पोखरालाई अत्याधुनिक उपकरण जडित एम्बुलेन्स, भेन्टिलेटर, अक्सिजन सिलिन्डर तथा अक्सिजन इन्सिनेटरलगायत स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका अनुसार विसं २०७९ मा महानगरको नयाँ नेतृत्वलाई स्वागत गर्दै लिञ्जीले उक्त सामग्री सहयोग गर्ने घोषणा गरेको थियो ।

तर रसुवाको केरुङ नाकामा भन्सार प्रक्रियासम्बन्धी जटिलताका कारण सामग्री लामो समय रोकिएको थियो ।

तत्कालीन व्यवस्थाअनुसार भन्सार छुटको सीमा १६ लाख रुपैयाँसम्म मात्रै रहेकाले करिब साढे तीन करोड रुपैयाँ मूल्य बराबरका सामग्री छुटाउन समस्या भएको उनले बताए ।

त्यसपछि महानगरले विभिन्न सरकारी निकायसँग समन्वय गर्दै भन्सार छुटका लागि पहल गरेको थियो ।

गत वर्षको बजेटमार्फत एम्बुलेन्समा लाग्ने भन्सार छुटको सीमा हटाइएपछि सामग्री ल्याउने प्रक्रिया अघि बढेको आचार्यले जानकारी दिए ।

यसबीच महानगरपालिकाको कार्यालयमा भएको आगलागीका कारण सम्बन्धित कागजात नष्ट भएपछि प्रक्रिया पुनः सुरु गर्नुपरेको थियो ।

आवश्यक प्रक्रिया पूरा गरी फेरि मगाइएका सामग्री शनिबार पोखरा महानगरपालिकाको परिसरमा ल्याइएको हो ।

“मितेरी सहर लिञ्जीबाट प्राप्त स्वास्थ्य सामग्री साढे तीन वर्षपछि पोखरा ल्याउन सफल भएका छौं,” प्रमुख आचार्यले भने, “यसले पोखराको स्वास्थ्य सेवा प्रवाहमा सहयोग पुग्नुका साथै दुई सहरबीचको सम्बन्ध थप सुदृढ भएको छ ।”

महानगरले उक्त सामग्री पोखरावासीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन प्रयोग गरिने जनाएको छ ।

यसअघि पोखरामा आयोजित अन्तरराष्ट्रिय ड्रागन बोट रेस प्रतियोगितामा सहभागी हुन लिञ्जी सहरका मेयर मिस्टर बाटाको नेतृत्वमा आएको टोली पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने पहिलो अन्तरराष्ट्रिय उडानमार्फत पोखरा आएको थियो ।

पोखरा र लिञ्जीबीच समयसमयमा भ्रमण आदानप्रदान हुँदै आएको छ । महानगरपालिकाले स्वास्थ्य सामग्री पोखरा ल्याउन सहयोग गर्ने नेपाल–चीन मैत्री संघ, भन्सार कार्यालय तथा नेपाल सरकारका विभिन्न निकायप्रति आभार व्यक्त गरेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *